महिला हिंसाको कारण र न्यूनीकरण « Arthapath.com
२२ फाल्गुन २०७६, बिहीबार

महिला हिंसाको कारण र न्यूनीकरण



रेबिका पुडासैनी

चार कोठाभित्र थुनिन्छन् नारी, पिटिन्छन्, अझै कति बुहारी मन्दिरभित्र गए शक्तिको रूप रे, घरभित्र किन बिचरी नारी ।

माथिका हरफले महिला हिंसा र महिला हिंसाको अवस्था राम्रोसँग देखाउँछ । संस्कृतिले भन्छ, नारीलाई पुजे देवता रमाउँछन् रे, तर यी कुरा शास्त्र र मन्दिरमा मात्र सीमित रहन्छन् । अझै कति महिलाको अवस्था त दयनीय छ । जसको मूल कारण हो महिला हिंसा ।

महिलालाई महिला भएकै कारण हेप्ने, कुट्ने, अपहेलना गर्ने उनको अस्तित्वमा आँच आउने खालको हरेक कुरा महिला हिंसाभित्र पर्दछन् । महिला हिंसा मौलाउन दिन समाजमा धेरै कुरा छन् । तीमध्ये एक हो नेपालीमा भएको परम्परागत ? नेपालमा सधैँ महिलालाई तल्लो स्तरमा राख्ने गरिन्छ । यहाँ महिलालाई धेरै बन्देज र सीमाभित्र राखिन्छ । अझै पनि नारीलाई घरको चार कोठाभित्र थुनेर राखिएको पाइन्छ । यस्तो काम नलाग्ने ? रुढिवादी सोचले गर्दा दाइजो प्रथा, छाउपडी प्रथा, बालविवाहको प्रथा मौलाउन पाएका छन् । अर्को प्रमुख कारण रहेको छ हाम्रो माझमा रहेको पितृसत्ता । हाम्रो समाजमा पुरुषलाई सधैँ माथि राखिन्छ । उनीहरूले महिलालाई सधैँ बच्चा पाउने र घरको काम गर्ने मेसिनको रूपमा मात्र लिन्छन् । न त पुरुषले महिलाको इज्जत नै गर्छन्, न त समान हुन नै दिन्छन् । सधैँ महिलालाई दमन गरेर राख्छन् । समाजमा बोक्सीको दोष कहिल्यै पुरुषलाई लगाइँदैन । सधैँ महिलालाई मात्र लगाइन्छ । महिला हिंसाको उदाहरण यो पनि हो । समाजमा महिला कमजोर र अशिक्षित भएकाले पनि उनीहरूलाई हेपिने गरिन्छ । शिक्षित रूपले सुन्दर र सभ्य महिलालाई बोक्सीको आरोप लगाइएको एउटा पनि उदाहरण छैन । समाजमा नियम कानुन कडा नभएर पनि महिला हिंसा बढेको हुन्छ । नेपालमा महिलाको हितका लागि धेरै कानुन बने पनि यसको मद्दतले महिलाको पीडा बीसको उन्नाइस पनि हुन सकेको छैन । हाम्रो न्यायपालिका महिलालाई लिएर निकै सुस्त देखापर्छ ।

यस्तो गम्भीर समस्याको समाधान पनि गर्नुपर्छ । समस्या महिलाको हो त्यसैले समाधानको सुरुवात पनि महिलाबाटै हुनुपर्छ । यसको न्यूनीकरण गर्न हामी पहिला सचेत हुनुपर्छ । गाउँघरका महिलाका लागि पनि सचेतनाको कार्यक्रम दिनुपर्छ । सबैजनालाई आफ्नो मौलिक हक र अधिकारबारे अवगत गराउनुपर्छ । महिलाले नै अरू पीडामा रहेका महिलाका लागि सहयोगको हात बढाउनुपर्छ । राज्यले यी कुरामा महिलालाई सहयोग गर्नुपर्छ । दोषीले सजाय र दुःखीले न्याय पाउनुपर्छ । सरकारले महिला हिंसा गर्नेलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्नुपर्छ । फेरि महिला हिंसा गर्न मन नलाग्ने र सोच्दा पनि डर लागेर आउने खालको सजाय दिनुपर्छ । यदि न्यायपालिकाले महिलाको साथ दिने हो भने महिला हिंसाको उन्मूलन चाँडै नै हुन्छ । महिलालाई उनीहरूको हक र अधिकार प्रदान गर्नुपर्छ । यदि महिलाले हकअधिकार प्रयोग गर्ने हो भने फेरि हामीले महिला हिंसा व्यहोर्नुपर्दैन । हामी सबै सचेत भएर आफूले पनि महिला हिंसाविरूद्ध आवाज उठाउनुपर्छ र अरूको पनि मद्दत गर्नुपर्छ । महिलालाई शिक्षित पार्नुपर्छ र अन्यायविरुद्ध आवाज उठाउन सिकाउनुपर्छ । समाजमा समसत्ता स्थापना गर्नुपर्छ । महिला पुरुष हातमा हात मिलाउदै सुन्दर भविष्य सिर्जना गर्नुपर्छ ।

अन्त्यमा धेरै अनुसन्धान र अध्ययनअनुसार पाँच महिलामध्ये दुई महिला हिंसाको सिकार भएका हुन्छन् । थोरै मात्र महिलाको आवाज सुनिन्छ । धेरै आवाज थुनिएको र दमन गरिएको छ । महिलाको आवाज सुनिन थाले महिला हिंसाको अन्त्य हुन सक्छ । महिला हिंसाको अन्त्य भए महिलाले विकास निर्माणका काममा हात बढाउन सक्छन् । हरेक क्षेत्रमा महिलाको आवाज उठ्न थाल्छ र यसले देश विकासमा टेवा प¥याउँछ । महिला र पुरुष दुवै मिलेर देश विकासमा लागिपरे भने पक्कै नै भोली नेपालले प्रगतिको शिखर चुम्नेछ ।


प्रतिक्रिया दिनुहोस्