नेता नेपालद्वारा सरकारको विशेष ध्यानाकर्षण « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

नेता नेपालद्वारा सरकारको विशेष ध्यानाकर्षण



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गरेका छन । सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहनुभएका नेता नेपालले कोरोना नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका निर्णय एवं निर्देशनलाई पालना गर्न पनि अपिल गरेका हुन ।

उनले विश्वभरि नै महामारीको रूप लिएको कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि जनताले देखाएको आत्मसंयमता, सावधानी र सचेतनाका लागि धन्यवाद ज्ञापनसमेत गरेका हुन ।

नेता नेपालले भोका श्रमजीवी जनतालाई राहत उपलब्ध गराउन, दोहोरो भएको भए त्यसलाई सच्याउन र यस कार्यलाई कम्तीमा गरिखाने वातावरण नहुञ्जेल कायम राख्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्नुभएको छ । उहाँले कामको सिलसिलामा देश बाहिर रहेका नेपालीको स्वास्थ्य, सुरक्षा, भिसा तथा अन्य समस्याका सन्दर्भमा सचेत पहल गर्न सम्बन्धित देशका सरकार एवं नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

कोरोना भाइरस जो कसैलाई पनि लाग्न सक्ने भन्दै नेता नेपालले कसैलाई यसको शङ्का लागेमा त्यसलाई नलुकाउन, कुनै प्रकारको हिनताबोध नगर्न, उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन । “विदेशबाट आएका व्यक्तिबाट नेपालमै रहेका व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भइसकेको सन्दर्भलाई दृष्टिगत गरी विदेशबाट आएका र उहाँहरूको सम्पर्क भएका सम्पूर्ण व्यक्तिलाई अनिवार्य रूपमा तोकिएको अवधि तोकिएका स्थान वा सेल्फ क्वारेन्टाइनमा बस्न र आफू एवं समाजलाई यस महामारीबाट जोगाउन विशेष अपिल गर्दछु”, नेता नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्