नेकपाको सचिवालयको बैठकले यस्तो निर्णय गर्यो « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

नेकपाको सचिवालयको बैठकले यस्तो निर्णय गर्यो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारंभमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिहरूको बारेमा जानकारी गराएको बारेमा विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले यस कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराईएको समेत बैठकपश्चातको विज्ञप्तीमा जनाएको छ ।

बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिनुभयो ।

प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नु भएर बैठक सम्पन्न भएको विज्ञप्तीमा जानकारी गराईएको छ ।


प्रतिक्रिया दिनुहोस्