मकवानपुरमा तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

मकवानपुरमा तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस



बिश्व अधिकारी

मकवानपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मकवानपुरमा तरकारी सञ्चालित तरकारी जोनलाई सुपरजोनका लागि सिफारीस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बुधबार बसेको बैठकले तरकारी जोनलाई सुपरजोनमा सिफारीस गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालित तरकारी जोनलाई सुपरजोनका लागि सिफारीस गरेको हो । बैठकले विगत ४ वर्ष देखि मकवानपुरमा सञ्चालित तरकारी जोनको कार्यक्षेत्र थाहा नगरपालिका वडा नम्बर १ देखि १२ सम्म ६ सय हेक्टर र ईन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रमा ४५० हेक्टर गरि १०५० हेक्टर क्षेत्रफललाई सुपरजोनमा सिफारीस गरेको हो । उक्त क्षेत्रमा तरकारी खेती रहेकाले सुपरजोनका लागि सिफारीस गरिएको समितिका अध्यक्ष खुलालले जानकारी दिनुभयो । सुपरजोनका लागि जिल्ला समितिले प्रदेशको कृषि मन्त्रालयमा र प्रदेश मन्त्रालयले केन्द्रमा सिफरीस गरेर निर्धारण हुने उहाँले बताउनुभयो ।

यस्तै बैठकले जिल्लामा जिल्लामा उत्पादित बालिहरुको प्राथमिकिकरण समेत गरेको छ । स्थानीय तहहरुका कृषि शाखा तथा प्रतिनिधिबाट प्राप्त तथ्याङ्कको आधारमा जिल्लामा खेती भईरहेका बालिहरु तथा पशु व्यवसायको प्राथमिकिकरण गरिएको उहाँले बताउनुभयो । स्थानीय तहहरुबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लामा एक नम्बरमा तरकारी/आलु खेतीलाई प्राथमिकिकरण गरिएको छ । यस्तै दोस्रोमा मकै, तेस्रोमा बाख्रा पालन, चौथोमा धान र पाँचौमा अदुवा÷बेसारलाई प्राथमिकिकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका कार्यक्रम साथ सञ्चालित छ । कार्यक्रम अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र (सुपर जोन) का रूपमा वर्गीकरण गरी कृषिसम्बन्धी कार्यक्रम सञ्चालन हुने गरेका छन् । कार्यक्रम मार्फत किशानलाई प्राविधिक, साना सिँचाइ, उत्पादन सामग्रीलगायतमा सहयोग गर्ने गरिएको छ ।

बैठकमा समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, भेटेनरी अस्पताल तथा पशु सेवा वित्र केन्द्रका प्रमुख सुशील केसी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका मनोहर रिजाल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगनाथ दाहाल, राष्ट्रिय अनुसंधान कार्यालयका उप अनुसंधान निर्देशक लीलाधर पौडेल, निमित्त समन्वय अधिकारी भीमलाल महर्जन, परियोजना प्रमुख महेश्वर लामिछाने, उद्योग वाणिज्य संघ मकवानपुरका प्रतिनिधि कृष्ण प्रसाद ढुंगानालगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्