निशेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुनसक्ने, स्थानियस्तरमा नै वितरणको ब्यवस्था मिलाउन बैंकर्स संघसँग आग्रह « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

निशेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुनसक्ने, स्थानियस्तरमा नै वितरणको ब्यवस्था मिलाउन बैंकर्स संघसँग आग्रह



काठमाडौं । कोरोना महामारिका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमूख शहरहरुमा जारी निशेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निशेधज्ञा जारी गरेको हुनाले निशेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने भएकाले सुन आयात हुन कठीनाई हुने भएको हो ।

नेपाल सनुचाँदी ब्यवसायी महासंघले निशेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपी केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताउनुभयो । उहाँले अधिकांश स्थानको ब्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताउनुभयो । अहिले रोकिएको सुनको आयातलाई ब्यवसाय सुचारु भएपनि निरन्तरता दिँदा पछि अहिले रोकिएको समेत गरी थप सुन ब्यवसायीकै हातमा पर्न जान्छ । तर अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सिमित ब्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक ब्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने आशंका उहाँले गर्नुभयो ।

महासंघका प्रवक्ता मनोज कुमार शाहले कारोबार सुचारु रहेका जिल्लाहरुकालागि स्थानियस्तरमा नै सुनको विक्री वितरणको ब्यवस्था मिलाउन बैंकर्स एशोसिएशनसँग आग्रह गरिएको बताउनुभयो । यसका लागि ब्यवसायी र बैंकर्स एशोसिएसनवीच आवश्यक परामर्श भैरहेको उहाँको भनाई छ । कारोबार सुचारु रहेका स्थानमा बिशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न समेत उहाँले ब्यवासयीहरुलाई आग्रह गर्नुभयो ।

विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तकिव ब्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत बर्षको बन्दमा भण्डै ५०० किलो सुन बैंकमा थुप्रिए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो । तर त्यो सुन कता गयो भन्ने तथ्याङ महासंघसंग नै छैन । यसर्थ फेरी पनि त्यसरी सुन गायव नहोस भन्नेतर्फ महासंघ सचेत बनेको छ । सामान्यतया बैंकहरुवाट आयात हुने सुन १५ दिन पछि ब्यवसायीको सिफारिस विना नै विक्री गर्न पाइन्छ । यसरी वक्री गरिँदा त्यस्तो सुन सिमित ब्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्