गण्डकीमा पोखरेलले पाए विश्वासको मत, छिट्टै मन्त्री मण्डल विस्तार हुने « Arthapath.com
४ असार २०७८, शुक्रबार

गण्डकीमा पोखरेलले पाए विश्वासको मत, छिट्टै मन्त्री मण्डल विस्तार हुने



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको ६ दिनपछि पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् । पोखरेलको पक्षमा ३१ मत प्राप्त भएको छ ।

प्रदेश सभामा कायम रहेका ५९ सांसदमध्ये ५८ मत खसेको थियो । विस्वासको मतको विपक्षमा २७ मत खसेको छ । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेलले प्रस्तावको पक्षमा ३१ मत परेको र उक्त संख्या हाल प्रदेश सभामा कायम रहेका सदस्य संख्याको बहुमत रहेको घोषणा गरेका छन् ।

यसअघि प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनी २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ वैशाखमा मागेको विश्वासको मत पाउन असफल भएपछि पोखरेल २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ थिए । यसमा राष्ट्रिय जनमोर्चाले आफ्ना एक सांसदलाई बर्खास्त गरेपछि प्रदेश सभा ५९ सांसदमा झरेको थियो । कांग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेलको पक्षमा ४ दल र १ स्वतन्त्र गरी ३१ मत जुटेको हो । मत बराबर भएको अवस्थामा निणर्यक मतदान गर्ने बाहेक सभामुखले मत हाल्न पाउँदैनन् ।

मुख्यमन्त्री पोखरेलले २९ जेठमै ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री भइसकेका छन् । उनीहरु सबै बिना विभागीय मन्त्रीका रुपमा सपथ खाएका थिए । बाँकी मन्त्री र मन्त्रालयको टुंगो अब सहमतिका आधारमा गरिने बताइएको छ ।

प्रदेश सभाबाट विस्वासको मत प्राप्त गरेसँगै अब उनलाई मन्त्री मण्डल विस्तार गर्ने बाटो खुलेको छ । अहिले मन्त्री भएकाहरुको जिम्मेवारी तोक्ने काम पनि एकसाथ हुने छ ।


प्रतिक्रिया दिनुहोस्