स्वतन्त्र पूँजी बजार सुधार संघको नाममा छाप र लेटरप्याडको किर्ते कार्यको कानुनी उपचारमा जाने

काठमाडौं । स्वतन्त्र पूँजी बजार सुधार संघको नाममा लेटर प्याड र छापको दुरुपयोग गरी अध्यक्ष डिल्लीश्वर कार्की (रोहन) लाई बर्खास्त गरिएको भनी जारी गरिएको विज्ञप्तीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले प्रेष विज्ञप्ती जारी गरि किर्ते र गैर जिम्मेवारपूर्ण कार्य नगर्न चेतावनी समेत दिएको छ ।
संघका पूर्व उपाध्यक्ष बिनायक शिवाकोटी (आदित्य), पूर्व कोषाध्यक्ष सुशिल कुमार लुनिया, पूर्व सह सचिव शिरिष आचार्य लगायतका सदस्यहरुलाई संस्थाले पहिले नै कारवाही गरी निलम्बन गरिसकेकाले आधिकारिक नभएको संघले जनाएको छ । ‘बर्खास्तमा परिसकेका केही अराजक समूहले सडकबाट अध्यक्ष कार्कीलाई बर्खास्त गरिएको भनी संस्थाको छाप र लेटरप्याड किर्ते बनाई नैतिकहिन प्रचारहरु गरिएको प्रति यस संघ निन्दा गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
छाप र लेटरप्याडको किर्ते कार्यको कानुनी उपचार गरिने संघले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘छाप र लेटरप्याडको किर्ते कार्यको कानुनी उपचार गरिने कुरा प्रष्ट पार्न चाहान्छौ । केही स्वार्थी समूहले यस संस्थालाई पहिले देखिनै प्रयोग गर्न खोजेको र संगठन तयार नभएपछि संगठन भित्रको केही व्यक्तिहरु प्रयोग गरिएको कुरा आम लगानीकर्ताको बीचमा घाम जत्तिकै छर्लङ्ग छ । पछिल्लो केहि दिनदेखि संगठनको कुनै पनि आधिकारीक बैठक नबसेको कुरा पनि स्पष्ट पार्न चाहान्छौं । यी सबै अराजक गतिविधिहरु आम लगानीकर्ताहरुले बुझ्नु भएको छ र बुझ्नुहुनेछ भन्ने आशा गरेका छौं ।’
स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्कीलाई बर्खास्त गरी सुशील कुमार लुनियालाई अध्यक्ष नियुक्त गरेको थियो । बहुमत सदस्यहरुको हस्ताक्षरसहित कार्कीलाई हटाएर लुनिया अध्यक्ष नियुक्त भएका थिए ।
