देशभर इन्टरनेट सेवा अवरुद्ध हुने, कक्षा १२ को परिक्षामा प्रतिकुल असर पर्ने ! « Arthapath.com
१८ जेष्ठ २०७९, बुधबार

देशभर इन्टरनेट सेवा अवरुद्ध हुने, कक्षा १२ को परिक्षामा प्रतिकुल असर पर्ने !



काठमाडौं । देशभरका मूख्य इन्टरनेट वितरण केन्द्रमा विद्युत प्रसारण लाइन काटिएका र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (इस्पान) ले प्रस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।

इन्टरनेट राज्यको अति आवश्यक सेवा भएकाले मानव अधिकारको रुपमा स्थापित भएको इस्पानले बताएको छ । यसअघि भरतपुरमा इन्टरनेट सेवा अवरुद्ध भएपश्चात् नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरण पश्चात् उच्च स्तरीय समिति गठन भई विधुतिय पोल प्रयोग तथा सोको भुक्तानी एंव उपभोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन दिएको थियो । उक्त प्रतिवेदनलाई स्वीकार गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव, ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव, नेपाल विद्युत प्राधिकरणका निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक, नेपाल दूरसञ्चार कम्पनीका प्रबन्धक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव समेतले हस्ताक्षर गरी सो प्रतिवेदन कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आवश्यक निर्देशन गरेतापनि नेपाल विद्युत प्राधिकरणले प्रतिवेदन कार्यान्वयन गरेको नगरेको इस्पानले आरोप लगाएको छ ।

यता इन्टरनेट सेवा प्रदायकहरुले भने आफूले प्रयोग गरेका पोलहरू सोघोषणा गरी नेपाल विद्युत प्राधिकरणमा बुझाएका छन् । साथै, प्रतिवेदन कार्यान्वयन गर्न जिम्मेवार नेपाल विद्युत प्राधिकरणको बोर्डले निर्णय नगरिसकेकोले विभिन्न अन्योलता उत्पन्न भएको छ । अनि नयाँ भाडादर कायम गर्न पुर्वाधार व्यवस्थापन तथा भाडादर सिफारिस समितिको पनि कुनै पनि बैठक नबसेको अवस्था छ । इन्टरनेट सेवा प्रदायकहरु “कायम गरिनु पर्ने भाडादरमा” भाडा बुझाउन नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरी स्वयम उपस्थित भई पत्र समेत बुझाएको अवस्था समेत रहेको छ ।

यस परिस्थितिमा नेपाल विद्युत प्राधिकरणका कार्यालयहरुले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागहरुमा इन्टरनेट सेवा प्रदायकहरुका डाटा सेन्टर, पएओपीमा प्रयोग भईरहेको विद्युत लाईन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको छ । साथै इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाईन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न सकिरहेको छैनन् । यो क्रम अति उच्चतम गतिमा अघि बढिरहेकोले गर्दा अहिले हाम्रा धेरै इन्टरनेट प्वाइन्टहरु बन्द हुन पुगेका छन् ।

उक्त कुराका बारेमा नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि जानकारी गराउँदै इन्टरनेट सेवा प्रदायकहरुले पत्र दर्ता गराएका छन् । यस परिस्थितिमा इन्टरनेट सेवा प्रवाह गर्ने साधन र वातावरण नभएका कारण देशभरि इन्टरनेट सेवा अवरुद्ध हुन लागेको जनाएको छ । सेवा अवरुद्ध हुँदा ग्राहकहरुमा क्षमा याचना गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक कार्य गरी उच्च स्तरिय समितीले प्रतिवेदन कार्यान्वयन गर्न गराउन हार्दिक अपिल गरेको छ ।

साथै इस्पानले राष्ट्रिय परीक्षा बोर्डद्वारा देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन मिलाउन दिएको निर्देशन कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकहरु असमर्थ रहेको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभरी प्रवाह गर्न भनिरहेको छ भने अर्को तर्फ नेपाल विद्युत प्राधिकरणका क्रियाकलापहरुले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ । यसकारण यस स्थितिले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनमा प्रतिकुल असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विषेश ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया दिनुहोस्