लिटरमै ३३ रुपैयाँ घटिसक्यो कच्चा तेलको भाउ, तर दुवै हातमा लड्डु खाने मन्त्री बडूको चलाखीले उपभोक्ताको ढाड सेक्दै « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

लिटरमै ३३ रुपैयाँ घटिसक्यो कच्चा तेलको भाउ, तर दुवै हातमा लड्डु खाने मन्त्री बडूको चलाखीले उपभोक्ताको ढाड सेक्दै



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार ओरालो लागेको कच्चा तेलको भाउ अझै कम भएर सन् २०२२ को अन्त्यसम्म प्रतिब्यारेल ६५ डलरमा झर्ने आकलन गरिएको छ । अमेरिकी केन्द्रीय बैंकले धमाधम ब्याज बढाउन थालेपछि कच्चा तेलको भाउ ओरालो लागेको हो । अमेरिकाले अर्थतन्त्रलाई मन्दीमा लगेरै भए पनि मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयास गरेको छ । कोभिडको बेला सरकारले नागरिकलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठुलो पैसा बाँडेको थियो । त्यसपछि पनि आर्थिक नीतिहरू खुकुलो बनाएर अर्थतन्त्रको पुनरुत्थान गर्न खोज्दा महँगी चुलियो । 

युक्रेन युद्धले मूलतः पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य आकासिएपछि सिङ्गै विश्व महँगीको भुङ्ग्रोमा परेको छ । यस्तो बेला मूल्य स्तरलाई धान्न सक्ने ठाउँमा फर्काउन अर्थतन्त्र मन्दीमा जानुपर्ने निचोडमा अमेरिकी केन्द्रीय बैंक पुगेको छ । संसारको सबैभन्दा ठुलो अर्थतन्त्र नियोजित रूपमै मन्दीमा जान लागेपछि पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेको छ । 

अर्कातिर आर्थिक गतिविधि खुम्च्याउन अमेरिकाले ब्याजदर बढाउँदै जाने नीति अघि सारेपछि डलरको भाउ ह्वात्तै उकालो लागेको छ । अहिले तेल बेचेर डलर थुपारेका खाडी मुलुकहरूलाई छाड्ने हो भने बाँकी पुरै विश्वका मुद्राहरू डलरको तुलनामा कमजोर भएका छन् । डलर महँगिने क्रम सुरु भएकाले पनि पेट्रोलियम पदार्थको मूल्य ओरालो लाग्न सघाउ पुगेको छ । 

नेपाली बजारको कुरा गर्ने हो भने पछिल्लो १ वर्षमा नेपालमा डलरको भाउ १२ रुपैयाँ ६४ पैसा महँगिएर बिहीबार १३१ रुपैयाँ ४१ पैसा पुगेको छ । डलर यसरी महँगिँदा पनि नेपालका लागि कच्चा तेलको भाउ पहिलेभन्दा सस्तो पर्ने देखिएको छ । गएको २३ फागुनमा कच्चा तेलको भाउ १३९ डलर प्रतिब्यारेल पुगेको थियो । त्यसै दिन नेपालमा डलरको भाउ १२२ रुपैयाँ १६ पैसा थियो । 

अहिले १ ब्यारेल कच्चा तेलको मूल्य ८९ डलर छ भने डलरको भाउ १३१ रुपैयाँ नाघेको छ । यसरी हेर्दा तेलको भाउ चुलिएको बेला १ ब्यारेल तेल किन्न १६ हजार ९८० रुपैयाँ तिर्नुपर्थ्यो । अहिले त्यति नै कच्चा तेल किन्न ११ हजार ६९५ रुपैयाँ पर्ने भएको छ । डलर महँगिँदा पनि अहिले नेपाली मुद्रामै १ ब्यारेल (१५८.९८७२९५ लिटर) तेल किन्न ५२ सय ८४ रुपैयाँ सस्तो परेको छ । यसरी १ लिटर कच्चा तेलको भाउ उच्चतम विन्दुबाट ३३ रुपैयाँ २४ पैसा कम भइसकेको छ । 

यसरी अन्तर्राष्ट्रिय बजारमा भाउ घटे पनि नेपालमा भने आलय निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । उल्टै पुरानो ऋण बाँकी भएको भनेर उपभोक्तामाथि दोहन गरिरहेको छ । निगमको यस्तो छलछामले दसैँमा घर फर्कने यात्रु मात्रै होइन, पुरै दसैँ महँगो भएको छ । हरेक सामानको भाउ बढेको छ । गत साल ५५० रुपैयाँ किलोमा पाइने जिउँदो खसीको भाउ अहिले ढुवानी भाडा बढेको भनेर ७०० रुपैयाँ किलो पुर्‍याएका छन् । यसले मासुको भाउ पनि बढेको छ । यसरी अस्थायी रूपमा बसोबास गरिरहेको स्थानबाट थात थलो फर्किने लगभग ५० लाख मान्छेले त मार खेप्नु परेको छ नै, दसैँमा गाउँघर नजानेले पनि महँगीको मार सहनु परेको छ । 

तर सरकार र आलय निगमले पटक पटक भारतबाट सस्तो भाउमा तेल आयात हुँदा पनि मूल्य घटाउने सुरसार गरेका छैनन् । पम्पहरूले दसैँको बेला बढी इन्धन भण्डारण राख्ने र यस्तो बेला मूल्य घटाउँदा देशभरका पम्प सञ्चालकहरूले घाना खानुपर्ने भनेर उनीहरूले आलय निगमलाई मूल्य घटाउन रोकिरहेको जानकार बताउँछन् । मन्त्रीसम्मै पहुँच राख्ने यस्ता पेट्रोलियम व्यापारीको दबाबमा निगमले उपभोक्ताको ढाड सेकिरहेको निगमकै अधिकारीहरूले जानकारी दिए । 

वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडू पनि अहिले जबरजस्ती मूल्य स्थिर राख्न सके पम्प सञ्चालकहरूबाट चुनाव खर्च पनि आउने र दसैँ तिहारपछि भाउ घटाएर चुनावको मुखमा जनता रिझाउन पनि पाइने योजनामा छन् । सरकारले दुवै हातमा लड्डु लिन खोज्दा सिङ्गै देशले महँगीको मार खेप्नु परेको निगमका एक अधिकारीले जानकारी दिए । 

Tags :

प्रतिक्रिया दिनुहोस्