अर्थमन्त्री र गभर्नरको सम्बन्ध सुधार हुँदै, सेयर धितो कर्जामा सीमा हटाउन राष्ट्र बैंक तयार भएको हो ? « Arthapath.com
१ आश्विन २०८०, सोमबार

अर्थमन्त्री र गभर्नरको सम्बन्ध सुधार हुँदै, सेयर धितो कर्जामा सीमा हटाउन राष्ट्र बैंक तयार भएको हो ?



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबिच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा मन्त्री महत र गभर्नर अधिकारीले समसामयिक विषयमा छलफल गरेका हुन् । भेटमा  देशको अर्थतन्त्रको विषयमा छलफल भएको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ । 

सचिवालय स्रोतका अनुसार अर्थमन्त्री महतले गभर्नर अधिकारीलाई अहिले कायम भएका केही प्रावधानलाई खुकुलो बनाएर अघि बढ्न सुझाव दिएका छन् । ‘सोमबार अर्थमन्त्री र गभर्नरको भेटवार्ता भएको छ । अर्थमन्त्रीले हाल कायम भएका केही प्रावधानलाई लचिलो बनाएर अघि बढ्न गभर्नरलाई सुझाव दिनु भएको छ’– स्रोतले भन्यो ।

उनले अर्थमन्त्री र गभर्नरको सम्बन्ध बाहिर चर्चामा आएको जस्तो नभएको बताए । अर्थ मन्त्रालय र राष्ट्र बैङ्क आपसमा दोषारोपण भइरहेको थियो । अर्थमन्त्री महत खास गरी मौद्रिक नीतिमा भएका कडाइका प्रावधानहरूलाई लिएर गभर्नरसंग रुष्ट थिए । तर, सोमबार भएको छलफलले भने सकारात्मक सन्देश दिएको छ । छलफलपछि गभर्नर अधिकारी केही प्रावधानमा लचिलो बन्ने संकेत पनि देखिएको छ । 

विशेषगरि मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा तोकिएको १२ को सीमा हट्ने संकेत देखिएको हो । कुनै एक व्यक्ति तथा कम्पनीले सेयर धितो कर्जामा एउटा बैङ्कबाट ४ करोडसम्म लिन सक्ने तथा बैङ्क तथा वित्तीय संस्था समग्रमा १२ करोडभन्दा लिन नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिमा गरेको सेयर कर्जा सम्बन्धी उक्त व्यवस्थाले सेयर बजारमा नराम्रो असर पारेको छ । पछिल्लो सेयर बजार ओरालो लागेको छ । अहिलेको सेयर धितोको व्यवस्थाले लगानीकर्ताको मनोविज्ञानमा असर गरेको भन्दै यसलाई परिवर्तन गर्न माग गरिएको थियो । 

अहिलेको सेयर धितोमा १२ को सीमा हटाउने वा १२ करोडको सीमा पुनरावलोकन गर्ने विषयमा छलफल आएको स्रोतले बतायो । ‘सेयर धितो कर्जामा १२ को सीमा हटाउने विषय पनि छलफलमा आएको थियो । पुँजी बजारमा १२ करोडको सीमा हटाएर २० करोडसम्म पुर्‍याउन खालको सुझाव दिइएको थियो’–स्रोतले भन्यो । 

अर्थमन्त्री महतले केही दिन अगाडि नै एक कार्यक्रममा पनि सेयर धितो कर्जाको सीमा १२ करोडबाट हटाएर २० करोडसम्म पुराउनुपर्ने समेत बताएका थिए । समग्र बजार चलायमान बनाउनका लागि सेयर बजार र घर जग्गा क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ । ‘अनुत्पादक क्षेत्र भन्दैमा सेयर बजार र घरजग्गा क्षेत्रलाई उपेक्षा गर्न सकिँदैन । बजार चलायमान बनाउन यी दुई क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका रहन्छ’–अर्थमन्त्री महतले एक कार्यक्रममै भनेको थिए । 

समग्रगमा सोमबार अर्थमन्त्री महत र गभर्नरबिचको छलफललाई सकारात्मक रूपमा हेरिएको छ । अब राष्ट्र बैङ्क केही प्रावधानमा खुकुलो बन्ने संकेत पनि देखिएको छ । यसले सेयर लगानीकर्ताको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पर्नेछ । लामो समयदेखि  सुस्ताएको सेयर बजारमा पनि उत्साह आउने बताइन्छ । 


प्रतिक्रिया दिनुहोस्