एमाले बागमतीको प्रथम अधिवेशन: १०८० प्रतिनिधि हुने, ७७ लाख खर्चकाे अनुमान

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ । यति बेला प्रदेश अन्तर्गतका विभिन्न जिल्ला तथा स्थानीय तहबाट आउने प्रतिनिधिको टुङ्गो पनि लागि सकेको छ ।
काठमाडौंमा यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि प्रतिनिधि छनौट र अन्य व्यवस्थापनका कार्य पुरा भईरहेको छ । हालसम्म १९९ वटा पालिकाका कुल १ हजार २८ जना प्रतिनिधि आएका छन् । जम्मा आएका प्रतिनिधिबाट ५ प्रतिशतलाई मनोनीत गरिने बताइएको छ । जम्मा प्रतिनिधि संख्या १०८० जना पुग्ने प्रदेश अध्यक्ष केशव पाण्डेले बताए । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
- यो पनि,
अधिवेशन वृहत जनसहभागितासहित काठमडौंको भृकुटीमण्डपमा हुने छ । अधिवेशन नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । अधिवेशनको सँघारमा मूल व्यवस्थापन समिति मार्फत नै सबै काम अधि बढी रहेको नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले बताए ।
उनका अनुसार प्रतिनिधि छनौट, १०० जनाको स्वयंसेवक व्यवस्थापन लगायतको तयारी सकिएको छ । उनले भने,–‘अधिवेशन सम्पन्न गर्नका लागि हामीले सम्पूर्ण तयारी तिव्रताका साथ अघि बढाएका छौँ । हालसम्म विभिन्न जिल्लाका पालिकाबाट प्रतिनिधि चयन सकिएको छ । अहिलेसम्म १ हजार २ जनाको टुङ्गो लागेको छ । यसका साथै विभिन्न उपसमिति बनाएर तयारीका काम अघि बढेका छन् ।’
अधिवेशन उद्घाटन समारोहमा भव्य सजावटसहितको मञ्च निर्माण, डिजिटल स्क्रिन, र्यालीमा प्रदेशभरिका विभिन्न जातजाति, भाषा, संस्कृति झल्कने झाँक्री, पहिरन तथा मौलिकताको प्रदर्शनीसहित उपत्यकाका विभिन्न नाकाबाट जुलुस निकालिने बताइएको छ ।
बन्द सत्र भने असोज ९ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा हुनेछ । पदाधिकारीसहित जम्मा सदस्य २४० जना रहनेछन् । कमिटीमा ३३ प्रतिशत महिला, १० प्रतिशत युवा (४० वर्ष मुनिका) साथै समावेशी सहभागिताको सुनिश्चिता गरिने एमाले बागमतीले जनाएको छ।
अधिवेशनको आम्दानी ७५ लाख र खर्च ७७ लाख हुने अनुमान
अधिवेशनमा कुल खर्च ७७ लाख हुने अनुमान गरिएको छ । त्यसमा खाना खाना तर्फ २१ लाख, मञ्च तथा हल व्यवस्थापनमा १६ लाख, छपाई, स्टेसनरत, मसलन्द तथा क्याप निर्माणमा १० लाख, यातायातमा १० लाख, निर्वाचन खर्च १३ लाख र विविधमा ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
तर, अधिवेशनको कुल अनुमानित आम्दानी भने ७५ लाख रुपैयाँ रहेको छ । त्यसमा प्रतिनिधि शुल्क बापत ३३ लाख रुपैयाँ आम्दानी हुने बताइएको छ।
यस्तै, लाभको पदमा पार्टी सदस्यबाट विशेष सहयोग ७ लाख, पार्टीका शुभेच्छुकहरुबाट स्वैच्छिक आर्थिक सहयोग स्वरूप ३५ लाख आम्दानी हुने अनुमान छ । यद्यपि, अधिवेशनको खर्चमा अधिकतम मितव्ययिता अपनाइने एमाले बागमतीले जनाएको छ।
आठ उपसमिति गठन, तोकियो संयोजक
अधिवेशनलाई थप व्यवस्थित बनाउन विभिन्न आठ उपसमिति बनाइएको छ । उपसमितिको संयोजक तोकिएर जिम्मेवारी बाँडफाँट गरिएको हो ।
अधिवेशनको प्रतिवेदन लेखन समितिमा अध्यक्ष केशवराज पाण्डेलाई जिम्मेवारी तोकिएको छ । खाद्य व्यवस्थापन समितिको संयोजकमा रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा विजय सुवेदी, आन्तरिक लेखा समितिमा रत्न गुरुङ, प्रचार एवं प्रकाशन समितिमा महेश कुमार बर्तौला रहेका छन् ।
यस्तै आर्थिक परिचालनमा कृष्णहरि खड्का, निर्वाचन समितिमा ओम थपलिया र हल व्यवस्थापन तथा स्वयम् सेवक परिचालन समितिमा पुरुषेत्तम आचार्यलाई संयोजक तोकिएको छ ।