कच्चा पदार्थ र तयारी बस्तुमा दुई तहको भन्सार लागू गर्ने उद्योग मन्त्रीको प्रतिवद्धता « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

कच्चा पदार्थ र तयारी बस्तुमा दुई तहको भन्सार लागू गर्ने उद्योग मन्त्रीको प्रतिवद्धता



काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने नीति अनुरुप आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याईने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले नेपालमा औद्योगिकरण गर्ने नीति अनुरुप सरकारले बजेट ल्याउने बताएका हुन् ।

‘हामीले तयारी बस्तु र औद्योगिक कच्चा पदार्थ आयातमा दुई तहको फरकमा भन्सारदर कायम गर्दैछौं,’ मन्त्रालयमा भएको उक्त भेटमा मन्त्री भण्डारीले भने, ‘सरकारले यसपटक नेपाली उद्योगलाई संरक्षण गर्ने नीति अनुरुप नै बजेट ल्याउने छ यसका लागि उद्योगी व्यवसायी ढुक्क हुनुभए हुन्छ ।’

मन्त्री भण्डारीले बजेटमार्फत देशमा उद्यमशिलता विकासलाई समेत उच्च प्राथमिकता दिईने बताए । पछिल्लो समय देशमा औद्योगिक वातावरण बिग्रिएको भन्दै अहिलेको अवस्थामा नेपाली उद्योगी व्यवसायीको आत्मविश्वास बढाउनुपर्ने दायित्व सरकारलाई रहेको उनले बताए ।

सोही अनुरुप उद्योगी व्यवसायीसँग सहकार्य गरेर सरकार अघि बढ्ने समेत मन्त्रीले जानकारी दिए ।

‘अहिले देशमा पुँजीको विकासका साथै राष्ट्रिय उत्पादन बढाउनुपर्ने जरुरी छ तर यसको लागि निजी क्षेत्रको साथ र सहयोग चाहिन्छ,’ महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा उनले भने, ‘यसका लागि सरकार र नीतिक्षेत्र सँगसँगै अघि बढ्नेछ ।’

यसैगरी मन्त्री भण्डारीले दोलखाको रहेको ओरियण्ड म्याग्नेसाईट खानीलाई समेत सरकारले तत्काल संचालनमा ल्याउने बताएका छन् ।

‘उक्त उद्योग लामो समयदेखि बन्द अवस्थामा छ । अब संचालनमा ल्याउन केकस्ता नीतिगत व्यवस्था गर्नुपर्छ त्यसका लागि सरकार तयार छ,’ उनले भने, ‘सरकारको एक मात्रै नीति देशभित्र औद्योगिक वातावरण निर्माण गर्ने भएकाले त्यसका उद्योगी व्यवासायीको सोही अनुरुप साथ र सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा उद्योग सचिव कृष्णबहादूर राउतले सरकारले आगामी आर्थिक वर्षको नीतिमार्फत देशमा उद्योगी व्यवसायीको मनोवल उच्च बनाई औद्योगिक वातावरण निर्माण गर्ने नीति लिएको भन्दै हाल देखिएका समस्यालाई बजेटमार्फत सम्बोधन गरिने बताए ।

‘नेपाल उद्याग तथा व्यवसायी महासंघले अहिले जुन समस्याहरु हामीलाई ज्ञापनपत्र मार्फत बुझाउनु भएको छ त्यसलाई उद्योगी र राष्ट्र हितमा हुनेगरी बजेटमार्फत सम्बोधन गरिनेछ,’ सचिव राउतले भने ।

महासंघको महासचिव बालकृष्ण सिवाकोटीको नेतृत्वमा गएको व्यवसायीक प्रतिनिधि मण्डलले अहिलेको विद्यमान आर्थिक संकटको मुख्य कारण अत्यावश्यक वस्तुहरू उत्पादन गरी राष्ट्रिय पुँजी निर्माण गर्ने उद्योग तथा व्यवसायको विकास नहुनु भएको र त्यसका लागि उद्योगी व्यवसायीका समस्या समाधान गर्नुपर्ने भन्दै १३ बुँदै ज्ञापन पत्र बुझाएको छ ।

नेपालमा विदेशी लगानी भित्र्याउन भन्दै अहिले सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको छ । तर आन्तरिक तथा बाह्य लगानी भित्र्याउन तथा नेपालमा उद्योग स्थापना र सञ्चालन गर्दा दर्जनौं निकायमा धाउनुपर्ने बाध्यता ज्यूँकात्यूँ रहेको उद्योगीको गुनासो छ ।

साथै समयावधि समेत अत्याधिक लाग्ने भएकोले छिटो छरितो तरिकाले उद्योग स्थापना गर्न तथा उद्योग सञ्चालन हुन नसकेको अवस्थामा बन्द गर्न समेत एक द्वार प्रणालीको व्यवस्था कार्यान्वयन गर्न समेत उद्योगीले आग्रह गरेका छन् ।

यसैगरी देशभित्र औद्योगिक विकासका लागि देशभित्रै खानी संचालन तथा उच्च भ्यालुएड गरी तयारी बस्तुहरु निर्यात गर्नुपर्ने महासचिव सिवाकोटीले बताए । ‘हामीसँग दोलखामा ठूलो मात्रामा ओरियण्ट म्याग्नेसाईट खानी छ तर लामो समयदेखि बन्द अवस्थामा छ,’ सिवाकोटीले भने, ‘नेपाललाई प्रत्यक्ष लाभ हुने त्यस्ता खालका खानी तथा अन्य उद्योगहरु संचालनमा ल्याउने जरुरी छ ।’

उक्त भेटमा महासंघका तर्फबाट कोषाध्यक्ष डीमप्रकाश पौडेल, सचिवालय सदस्यहरु डा. तिलचन्द्र भट्टराई, सूर्यबहादूर थापा, मन्त्रालयका सचिवद्वय कृष्णबहादूर राउत, दिनेशकुमार घिमिरेलगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्