हाम्रो शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो छ « Arthapath.com
२७ असार २०८१, बिहीबार

हाम्रो शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो छ



राजेन्द्रध्वज थापा, क्याम्पस प्रमुख, ग्रामीण आदर्श बहुमुखी क्याम्पस

काठमाडौँको उत्तरी भेगमा २०५१ सालमा स्थापित पहिलो सामुदायिक ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अहिले पनि विद्यार्थीको चार्म घटेको छैन । सो क्याम्पसमा २०५७ सालदेखि प्राध्यापनमा जोडिनुभएका राजेन्द्रध्वज थापा विगत ६ वर्षदेखी क्याम्पस प्रमुखको रूपमा सेवा गर्दै आएका छन् । रिपब्लिक मोल्डोभाबाट कम्प्युटर इन्जिनियरिङमा डिग्री हासिल गरेका थापा केही समय नेपाल एयरलाइन्समा इन्जिनियर भएर पनि काम गरे । सोसोलोजीमा मास्टर्स डिग्री र विएस्सी गरेका उनी काठमाडौँ नेपालटारमै जन्मिएका हुन् । उनै थापासँग अहिलेको शिक्षा क्षेत्रको बारेमा अर्थपथले गरेको कुराकानीको सार संक्षेपः–  

तपाईं त लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध हुनुहुन्छ । अहिलेको एसइईको नतिजा खुम्चिएजस्तो देखिन्छ । यसलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

पहिला–पहिला पनि यस्तै नतिजा आउँथ्यो । शिक्षाको गुणस्तर बढाउनुपर्ने नै देखिन्छ । आजभोलि प्रविधिले गर्दा बच्चाहरू पढाइभन्दा पनि मोबाइलतिर ध्यान दिने अवस्था सिर्जना भएको छ । पढाइमा मिहिनेत गर्नेहरू अलिक कम नै छन् । त्यसैले पनि नतिजा खस्किएको हो ।

शिक्षा प्रणाली नै अधोगतितर्फ लागेको हो ?

यसमा सुधार गर्नुपर्ने देखिन्छ । विदेशमा जस्तो शिक्षा प्रणाली यहाँ छैन । विदेशमा व्यावहारिक शिक्षा हुन्छ । तर, यहाँ पास कसरी हुन्छ भन्ने खालको परम्परा छ । शिक्षा प्रणाली खस्किएको नै देखिन्छ ।

अहिले नयाँ विद्यार्थी भर्ना अभियान चलिरहेको छ । ग्रामीण कलेज नै भनेर विद्यार्थी किन आउँछन् ?

यहाँ आउनुको मुख्य कारण भनेकै गुणस्तरीय शिक्षा हो । यो तारकेश्वर नगरपालिका (काठमाडौं उपत्यकाको उत्तर भेग)कै पुरानो कलेज हो । यो ०५१ सालमा स्थापना भएको पहिलो सामुदायिक क्याम्पस हो । यहाँ अनुभवी प्राध्यापकहरूबाट पढाइ हुन्छ । सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौँ । त्यही भएर पनि यहाँ विद्यार्थीको उपस्थिति राम्रो छ । विद्यार्थी र अभिभावकले विश्वास गरेका छन् ।

कलेज मात्र हुँदा विद्यार्थीको सङ्ख्या घट्दैन र ? अन्य अधिकांश कलेजले विद्यालयस्तरदेखि नै पढाइ गरिरहेका छन् नि !

शिक्षा ऐन पास भइनसकेको अवस्थामा हामी पनि अब बिस्तारै विश्वविद्यालयबाट दिइने अनुदान (क्युएए)मा नगई सुखै छैन । त्यसका लागि हामीले पनि १२ लाई छुट्टै तरिकाले लैजानुपर्ने अवस्था छ भने त्यसभन्दा माथिको क्याम्पस नै हुने भइहाल्यो । अब हामीले स्कुल जोड्नुपर्छ । अहिलेसम्म त्यो प्रावधान भइसकेको छैन ।
त्यति हुँदा पनि हामीकहाँ विद्यार्थीको चाप बढ्दो छ । अहिले पनि ११ र १२ मा गरेर १५ सयभन्दा बढी विद्यार्थी छन् । अझ एसइईको ग्रेडवृद्धि परीक्षा हुन बाँकी नै छ । यसो हुँदा हामीलाई माया गरेर अझ धेरै विद्यार्थी आउँछन् भन्ने अपेक्षा राखेका छौँ । अभिभावकले पनि मन पराइदिनुभएको छ ।

अहिले त उच्च शिक्षाका लागि बिदेसिने क्रम पनि बढेको छ । देशभरका क्यापसमा नै विद्यार्थीको सङ्ख्या घटिरहेको छ । यहाँ विद्यार्थीको उपस्थिति कस्तो छ ?

अरू कलेज हेरीकन उपस्थिति राम्रो नै छ । असर त अलिअलि परेकै छ । नतिजा समयमा नआउनु, चारवर्षे कोर्स हुनु, स्नातक सकाउन ५–६ वर्ष पनि लाग्छ । त्यसकारण विद्यार्थीमा निराशा पनि छ । रोजगारीको अवसर पनि त्यति छैन । त्यसैले पनि विद्यार्थी बाहिरै जान खोज्छन् । पहिलो वर्षमा जति विद्यार्थी भर्ना हुन्छन् बिस्तारैबिस्तारै घट्दै जान्छन् । यो समस्या सबै कलेजमा छ । त्यति भईकन पनि व्यवस्थापनमा हाम्रो चारवटा सेक्सन छ । एउटा सेक्सनमा ५०–६० जना हुन्छन् । त्यो त राम्रो नै हो ।

यस कलेजले सर्वसुलभ मात्र हो कि स्तरीय शिक्षा प्रदान गरिरहेको छ ?

त्यो त नतिजाबाटै पनि हेर्न सकिन्छ । हामीकहाँ अनुभवी शिक्षकहरू हुनुहुन्छ । यदि हामीले गुणस्तरीय शिक्षा नदिएको भए यहाँ पढ्ने विद्यार्थीले आफ्ना भाइबहिनीलाई यहाँ पठाउँदैनन् नि । सुधार्नुपर्ने त धेरै नै छ । अहिले प्रविधिको जमाना छ । त्यसतर्फ केन्द्रित हुनु आवश्यक छ । अबका दिनमा नयाँ तरिकाले पठनपाठन गराउनुपर्नेछ । ई–लाइब्रेरी पनि सुरु गर्दै छौँ । नयाँ प्रविधिमार्फत सिकाइ गराउन आइसिटी खरिदका अनुदान पनि प्राप्त भइरहेको छ । प्रयोगशाला पनि राम्रै छ ।

यहाँ कुन–कुन विषय अध्यापन भइराखेका छन् ?

हामीकहाँ ११–१२ मा विज्ञान सङ्काय पनि छ । त्यसभन्दा माथि तीनवटा सङ्काय व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी सङ्कायमा स्नातकोत्तरसम्म पढाइ भइरहेको छ । अब हामी नयाँ विषय थप गर्नका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न क्युएए (क्वालिटी एस्योरेन्स एन्ड अक्रेडिटेस)मा जानैपर्ने बाध्यता छ । यो भनेको कलेजमा गुणस्तर शिक्षा छ भनेर दिइने आश्वासन र मान्यता हो । यसका लागि धेरै प्रक्रिया छन् । केही क्याम्पसले प्राप्त पनि गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्