ट्रम्पको आदेशका असरहरु नेपालमा पनि देखिन थाले, महामारी नियन्त्रणमा जोखिम थपिन सक्ने « Arthapath.com
१३ माघ २०८१, आईतवार

ट्रम्पको आदेशका असरहरु नेपालमा पनि देखिन थाले, महामारी नियन्त्रणमा जोखिम थपिन सक्ने



काठमाडौँ । अमेरिकामा राजनीतिक नेतृत्व फेरिएको असर नेपालमा देख्न थालिसकिएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सञ्चालन गर्न लागेको एक सर्वेक्षणको कार्यक्रम रातारात स्थगित गरिएको छ ।

न्यू एरा नामक संस्थासँग मिलेर सञ्चालन गर्न लागिएको देशब्यापी कोभीड १९ सम्बन्धी एउटा सर्वेक्षणका लागि थुप्रै्र तयारी भइसकेको थियो । यसका सबै पूर्व तयारी सकिएर अनुसन्धानकर्ताहरुलाई ‘फिल्ड’मा उतार्ने बेला कार्यक्रम स्थगित भएको सूचना प्रसार भयो ।

आइतबारदेखि सञ्चालन हुने भनिएको अन्तिम तालिमको कार्यक्रमहरु स्थगित गरिएको सूचना शनिबार रातीमात्रै प्राप्त गरेको उक्त अनुसन्धानमा सहमागिहरुले जनाएका छन् । यो सर्वेक्षण अन्तिम घडीमा आएर ‘अनिश्चित कालका लागि स्थगित’ भएको छ ।

उक्त देशब्यापी सर्वेक्षणमा सहभागि हुन मुलुकभरबाट १६० जना अनुसन्धानकर्मीहरु जुटिरहेका थिए । त्यस्तै हर्ड इन्टरनेशनल नामक अर्को संस्थाले पनि शहरी जनस्वास्थ्यका सम्बन्धमा सर्वेक्षण गर्न अर्को १५ जनाभन्दा धेरै चिकित्सकहरुको टोलि तयार पारेको थियो ।

यस बाहेक सरकार, सर्वेक्षण संस्थाका अन्य कमचारीहरु समेत ५०० जनाभन्दा धेरैको प्रयास ‘अनिश्चित’ भएको छ ।

ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार हस्ताक्षर गरेका २०० भन्दा धेरै कार्यकारी आदेशहरुमध्ये दुई आदेशले उक्त सर्वेक्षणको काम प्रभावित भएको हो । उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अमेरिका बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

त्यसका लागि अमेरिकाले कोभीड १९ महामारी नियन्त्रणमा यो संस्थाको भूमिका प्रभावकारी नरहेको आरोप अमेरिकाले लगाएको छ । तर कतिपय जानकारहरु राष्ट्रसंघीय निकायहरुमध्ये चीनको सबैभन्दा बलियो प्रभाव रहेको संस्थाका रुपमा डब्ल्यूएचओलाई लिइन्छ ।

डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता अमेरिका भए पनि यस संस्थाको नियन्त्रण चीनको हातमा रहेको भनेर ट्रम्पले आफ्नो अघिल्लो कार्यकालका दौरान पनि भन्दै आएका थिए । ‘अमेरिकासँग पैसा लिएर चीनले खर्च गर्ने’ भन्ने भाष्य सिर्जना गराउन ट्रम्प सफल भएजस्तो देखिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका थिए ।

तर यसरी डब्ल्यूएचओबाट अलग हुने प्रक्रिया पुरा गर्न केही समय लाग्ने छ । त्यस बेलासम्मको पैसा त आउनु पर्ने थियो । ट्रम्पले अर्को एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसले ९० दिनका लागि अस्थायी रुपमा अमेरिकी सहायता स्थगित गर्ने नीति लियो ।

यसै कार्यकारी आदेशको कार्यान्वयन गर्न अमेरिकी स्टेट डिपार्टमेन्टले एक आदेश जारी गरेको छ, जसमा विद्यमान सहायताका सबै कामहरु ‘तत्काल बन्द गर्न’ र नयाँ सहायताहरु प्रदान नगर्न भनिएको छ । अमेरिकी विदेश मन्त्रालय र यूएसएआईडीबाट प्रवाह हुने सहायताहरु पनि पूर्ण रुपमा रोक लगाइएको छ ।

‘यसको दायरा असाध्यै विशाल छ । जबसम्म विशेष रुपले छुटहरु दिइँदैन, तबसम्म सम्पूर्ण विदेशी सहायतालाई रोक लगाइएजस्तो देखिन्छ’, अमेरिकी समाचार संस्था सीएनएनले लेखेको छ, ‘यसको मतलव जीवन रक्षक विश्वब्यापी स्वास्थ्य सहायता, विकास सहायता, सैन्य सहायता र यहाँसम्म की– स्वच्छ जल वितरणका कार्यक्रमहरु समेत सबै योजना प्रभावि हुन सक्छन् ।’

तर नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारे आफूहरुलाई औपचारिक जानकारी प्राप्त नभइसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइतबार विहान अर्थपथसँगको कुराकानीमा भने, ‘डब्ल्यूएचओले हामीलाई केही भनेको छैन । अमेरिकी सरकारले पनि भनेको छैन । उनीहरुले पत्राचार गरेपछि मात्रै हामीलाई जानकारी हुन्छ ।’

५५ प्रतिशत स्रोत अमेरिका निर्भर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली जनस्वास्थ्य क्षेत्रमा अमेरिकी सहायताको हिस्सा असाध्यै ठूलो छ । प्रवक्ता डा. बुढाथोकीका अनुसार हाम्रो स्वास्थ्य बजेटमा अमेरिकाको सहयोग ७ अर्ब हाराहारी छ । यो भनेको स्वास्थ्य क्षेत्रको कुल वैदेशिक स्रोतमध्ये करीव ५५ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भागमा यो आर्थिक वर्षमा कुल ४६ अर्ब १४ करोड २३ लाख बजेट छुट्याइएको छ । त्यसमध्ये ५ अर्ब ५६ करोड ५१ लाख रुपैयाँ अनुदान र ७ अर्ब २० करोड ४२ लाख ऋण गरी जम्मा १२ अर्ब ७६ करोड ९३ लाख वैदेशिक स्रोतबाट प्राप्त हुने भनिएको थियो ।

वैदेशिक स्रोतको आधाभन्दा धेरै निर्भरता अमेरिकासँग देखिन्छ । यति ठूलो स्रोत कटौति हुँदा कसरी परिपूरण हुन्छ भन्ने स्पष्ट छैन । सरकार आफ्नो सञ्चित कोषलाई ब्यापक घाटामा राखेर पनि उधारो भुक्तानी नगर्न नसक्ने अवस्थामा छ । यद्यपि, प्रवक्ता बुढाथोकी भने आफूहरु ‘तयारी हालत’मा रहेको बताउँछन् ।

अमेरिकाको पछिल्लो निर्णयले कति फरक पर्छ भनेर हामीले कति गम्भीरतासाथ मूल्यांकन गरेका छौँ ? भन्ने प्रश्नमा बुढाथोकीले भने, ‘हामी सबै तरिकाले तयारी अवस्थामा छौँ । कुन देशले कति सहयोग गरेको छ, कहाँकहाँ गरेको छ, कुन देशले हात झिक्यो भने के हुन्छ, भूराजनीतिमा के कस्तो वस्तुस्थिति देखिन्छ, त्यही अनुसार हामी तयारी अवस्थामा छौँ । तर पहिले नै यसो गर्यो भने यसो गर्छौँ भनेर भन्न भएन । त्यही मात्रै हो ।’

विश्व स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालयलाई पनि हामीले यस बारेमा प्रश्न पठाएका थियौँ । तर त्यहाँबाट इमेलको जवाफ प्राप्त भइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्