राजसंस्था पुनःस्थापनाका लागि भन्दै गठन भयो ‘आउट–डेटेड’हरुको समिति, यी हुन् ज्ञानेन्द्रका ‘सोह्र कला’

काठमाडौँ । नेपालमा राजसंस्था र हिन्दुअधिराज्य पुनःस्थापनाको लागि भनेर ‘संयुक्त जनआन्दोलन समिति’ गठन भएको छ ।
उक्त समितिको संयोजकमा आजको पुस्ताले नामै नसुनेका पुराना पञ्च नेता नवराज सुवेदी चयन भएका छन् । यस समितिको सदस्यसचिवमा रवीन्द्र मिश्र चुनिएका छन् ।
सोही समितिको सदस्यहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना नेताहरुको बाहुल्यता छ । पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा, राजेन्द्रप्रसाद लिङ्देनजस्ता नेता यो समितिमा सदस्य छन् ।
पछिल्लो समय ‘राजा ल्याउने’ आन्दोलनमा होमिएका व्यवसायी दुर्गा प्रसाईं र विश्व हिन्दु महासंघको अन्तरराष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारी पनि यो समितिको सदस्य छिन् ।
हरिबहादुर बस्नेत, केशरबहादुर बिष्ट र पूर्व पत्रकार रमा सिंह पनि यो समितिमा सदस्य छिन् । यसमध्ये धेरै मानिसहरु वर्तमान समयको नभई ‘अतित’को प्रतीकजस्तो देखिएका छन् ।
उक्त समितिलाई दिशानिर्देश गर्न पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन भएको सामाजिक सञ्जालहरुबाट जानकारी दिइएको छ । उक्त समितिमा प्रा. डा. जगमान गुरुङ, बुद्धिराज बज्राचार्य, डा. शास्त्रदत्त पन्त, डा राजेश अहिराज र खेमराज सेढाईँ सदस्य छन् ।