निजी क्षेत्र गम्भीर आर्थिक शिथिलताबाट गुज्रिरहेको छ: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पछिल्लो समय अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको बताएका छन् ।
चेम्बर अफ कमर्सको ७४औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले हाल अर्थतन्त्रका बाह्य सूचकमा हाल सम्मकै उच्च सुधार र आन्तरिक तर्फ पनि केही सुधारको सङ्केत देखिएको बताए ।
पछिल्लो समय आयात तथा निर्यातमा भएको वृद्धि, पर्यटक आगमनमा सुधार सहितको तथ्याङ्कले अर्थतन्त्र विस्तार हुन लागेको सङ्केत देखिएको उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थामा न्यून ब्याजदरमा ७ खर्ब रुपैयाँ भन्दा बढी रकम उपलब्ध रहे पनि नयाँ लगानी प्रति निजी क्षेत्र आकर्षित हुन नसकेको उनले बताए ।
अहिले निजी क्षेत्र गम्भीर आर्थिक शिथिलताबाट गुज्रिरहेको अग्रवालले बताए। ’अर्थतन्त्रको महत्त्वपूर्ण सेक्टर उद्योग, निमार्ण, घरजग्गा कारोबार, थोक तथा खुद्रा व्यापारले अझै गति लिन सकेको छैन यसरी उद्यमी व्यवसायीहरूको उत्साहमा कमी आउनु अर्थात् मनोबल खस्किनुमा विगतका पुराना समस्याहरूको बोझ नै प्रमुख कारण हो’ उनले भने ।
निजी क्षेत्रको जोखिम गर्न सक्ने क्षमता खस्किएको कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन आँट गर्न नसकेको पनि उनले सुनाए ।