म्युनिख सुरक्षा सम्मेलन : नेटोको विध्वंश होला कि पुनर्संरचना ?
काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले म्युनिख सुरक्षा सम्मेलनका लागि युरोप भ्रमण गर्ने क्रममा यसलाई एक निर्णायक क्षण र ‘नयाँ युग’ को रूपमा टिप्पणी गरेका छन्। रुबियोले शनिबार उक्त सम्मेलनमा सम्बोधन गर्ने छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने प्रतिवद्धताका साथ डेनमार्कको सार्वभौमसत्तामाथि खतरा उत्पन्न गराएपछिको यो पहिलो ठुलो विश्वव्यापी कार्यक्रम हो, जसको अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व रुबियोले गर्नेछन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले युरोप अमेरिकाबाट स्वतन्त्र हुन तयार हुनुपर्नेमा जोड दिएका छन् भने अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सैन्य संगठन (नेटो) का महासचिव मार्क रुटले आन्ध्र महासागर वारपारको (ट्रान्स–एटलान्टिक) सम्बन्ध पहिले जत्तिकै घनिष्ठ र महत्त्वपूर्ण रहेको बताएका छन्।
सुरक्षा सम्मेलन सुरु भएसँगै युक्रेन युद्ध, चीनसँगको तनाव र इरान तथा अमेरिकाबीच हुन सक्ने सम्भावित आणविक सम्झौता पनि एजेन्डामा रहेका छन्।
जब उनलाई सोधियो– ‘के युरोपेलीहरूका लागि उनको सन्देश एक वर्ष अघिको तुलनामा बढी मेलमिलापपूर्ण हुनेछ?’ रुबियोले पत्रकारहरूसँग भने, ‘हाम्रो अगाडि संसार निकै तीव्र गतिमा परिवर्तन भइरहेको छ । हामी भू-राजनीतिको नयाँ युगमा बाँचिरहेका छौं, र यसले हामी सबैलाई त्यो कस्तो देखिन्छ र हाम्रो भूमिका के हुनेछ भन्ने कुराको पुन: परीक्षण गर्न आवश्यक बनाउनेछ।’
गत वर्षको सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अभिव्यक्ति स्वतन्त्रता र अध्यागमनसम्बन्धी नीतिहरूलाई लिएर बेलायतसहित युरोपमाथि कडा प्रहार गरेका थिए। उनको भाषणले एक वर्षसम्म अभूतपूर्व ट्रान्सएट्लान्टिक तनाव निम्त्याएको थियो।
यस वर्षको कार्यक्रममा करिब ५० विश्व नेताहरू सहभागी हुँदैछन्, जहाँ नेटोप्रतिको अमेरिकी प्रतिबद्धतामा प्रश्न उठिरहेको बेला युरोपेली रक्षा र ट्रान्सएट्लान्टिक सम्बन्धको भविष्यबारे छलफल हुनेछ।
पछिल्ला महिनाहरूमा तनाव झन् बढेको छ । किनकि ट्रम्पले बारम्बार ग्रीनल्याण्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताउँदै आएका छन्। उनले कुनै प्रमाण बिना नै त्यहाँ ‘जताततै रुसी र चिनियाँ जहाजहरूले भरिएको’ दाबी गरेका छन्।
डेनिस प्रधानमन्त्री मेट फ्रेडरिक्सनले शुक्रबार रुबियोसँग भेटेर डेनमार्कको अर्ध-स्वायत्त क्षेत्रलाई उसको नेटो सहयोगीबाट खोस्ने अमेरिकी धम्कीबारे छलफल गर्ने योजना बनाएकी बताइन् ।
धेरै युरोपेली नेताहरूले अमेरिकी धम्कीलाई एक यस्तो ‘वाटरसेड’ (निर्णायक) क्षणको रूपमा हेरेका छन्, जसले आफ्नो सबैभन्दा ठुलो सहयोगीसँगको विश्वासमा ह्रास ल्याएको छ।
सम्मेलनअघि नेटोका लागि आठ पूर्व अमेरिकी राजदूतहरू र युरोपमा रहेका आठ पूर्व अमेरिकी सर्वोच्च कमाण्डरहरूले वासिङ्टनलाई पश्चिमी रक्षा गठबन्धनको समर्थन कायम राख्न आह्वान गर्दै एउटा खुला पत्र जारी गरेका छन्।
उनीहरूले नेटो ‘परोपकार’ नभई ‘शक्ति-प्रवर्द्धक’ भएको बताए । जसले अमेरिकालाई आफ्नो शक्ति र प्रभाव यस्तो तरिकाले विस्तार गर्न अनुमति दिन्छ, जुन आफैले मात्र गर्न असम्भव वा अत्यधिक महँगो हुनेछ।
रिपब्लिकन राष्ट्रपतिले भन्सार शुल्क लगाएपछि र अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा युरोपेली राष्ट्रहरू दीर्घकालीन रूपमा ‘भरपर्दो सहयोगी’ रहन नसक्ने सुझाव दिएपछि ट्रान्सएट्लान्टिक सम्बन्ध बढ्दो दबाबमा आएको छ।
डच विदेशमन्त्री डेभिड भान वीलले शुक्रबार ‘संसार परिवर्तन भएको’ स्वीकार गरे र ‘ट्रान्सएट्लान्टिक सम्बन्ध’ मजबूत रहने आशा व्यक्त गरे। भान वीलले आफ्नो देशको सुरक्षाको सवालमा नेदरल्याण्ड्सले ‘अगाडि बढ्न’ आवश्यक रहेको महसुस गरेको, तर रक्षा खर्च बढाउन आफ्नो देशले ‘ठुलो बलिदान’ दिइरहेको बताए।
‘युरोपमा अमेरिकीहरूको सुरक्षा भार हामीले वास्तवमै सम्हाल्न सक्नुअघि अझै समय लाग्नेछ,’ उनले चेतावनी दिए। ट्रम्पको महिनौँको दबाबपछि नेदरल्याण्ड्स ती नेटो सहयोगीहरूमध्ये एक थियो जसले गत वर्ष रक्षा खर्चलाई २०३५ सम्ममा आफ्नो देशको आर्थिक उत्पादन (जीडीपी)को ५% पुर्याउन सहमत भएका थिए।
रुबियोले गत वर्षको भान्सको जस्तो कठोर शैलीलाई त्याग्ने अपेक्षा गरिएको छ। तर जब उनलाई थप मेलमिलापपूर्ण हुने योजना छ कि भनी सोधियो, उनले पत्रकारहरूलाई भने- ‘युरोपेलीहरू हामी कहाँ जाँदैछौं, हामी कहाँ जान चाहन्छौं र हामी उनीहरूसँगै कहाँ पुग्न चाहन्छौं भन्ने जान्न चाहन्छन्।’
जर्मन चान्सलर फ्रेडरिक मर्जले म्युनिख सम्मेलन उद्घाटन गर्नुभन्दा केही घण्टाअघि विदेशमन्त्री जोहान वाडेफुलले जर्मन सार्वजनिक टेलिभिजनलाई बताए अनुसार यसको उद्देश्य ‘नेटोलाई के कुराले जोडेर राखेको छ भन्ने संयुक्त रूपमा परिभाषित गर्नु र अमेरिकालाई पनि युरोपको आवश्यकता छ भनेर देखाउनु हो।’
म्याक्रोँले पनि शुक्रबार सम्मेलनलाई सम्बोधन गर्नेछन्। उनले गत महिना डाभोसमा भएको विश्व आर्थिक मञ्चमा अहिलेको समय ‘नयाँ साम्राज्यवाद वा नयाँ उपनिवेशवादको लागि होइन’ भनी बताएका थिए।
एक हप्ताको अस्थिर आन्तरिक राजनीतिपछि बेलायति प्रधानमन्त्री केयर स्टार्मर पनि म्युनिख भ्रमण गर्नेछन्, जहाँ उनले शनिबार बिहान शिखर सम्मेलनलाई सम्बोधन गर्नुअघि मर्ज र म्याक्रोन दुवैसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनका अध्यक्ष वोल्फगाङ्ग इस्चिङ्गरले कार्यक्रम अघिको एक रिपोर्टमा भने: ‘पुस्ताौँदेखि अमेरिकी सहयोगीहरू अमेरिकी शक्तिमा मात्र होइन, अन्तर्राष्ट्रिय व्यवस्थाका सिद्धान्तहरूमा आधारित साझा बुझाइमा पनि भर पर्न सक्षम थिए। आज यो धेरै कम निश्चित देखिन्छ, जसले ट्रान्सएट्लान्टिक र अन्तर्राष्ट्रिय सहयोगको भविष्यको आकारबारे कठिन प्रश्नहरू खडा गरेको छ।’
पूर्व जर्मन कूटनीतिज्ञले ह्वाइट हाउसको विदेश नीतिले “पहिले नै संसारलाई परिवर्तन गरिरहेको छ, र यसले यस्तो गतिशीलता सुरु गरेको छ, जसको पूर्ण परिणामहरू बल्ल देखिन थालेका छन्” भनेर सुनाए ।
म्युनिख आइपुगेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो सम्मेलनले युक्रेन र युरोपको साझा सुरक्षाको लागि नयाँ कदमहरू ल्याउने बताए।
शुक्रबार रुसी सञ्चारमाध्यमले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै युद्ध अन्त्य गर्ने उद्देश्यले रुस, युक्रेन र अमेरिकाबीच अर्को चरणको वार्ता आगामी मंगलवार र बुधवार जेनेभामा हुने बताएका छन्। कीभ र वासिङ्टनले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।
ती तीन देशले हालै संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा वार्ता गरेका थिए, जसमा कुनै ठोस उपलब्धि देखिएको थिएन । यद्यपि अमेरिकाको मध्यस्थतामा भएको छलफल सकिए लगत्तै युक्रेन र रुसले युद्धबन्दीहरूको दुर्लभ आदानप्रदान गरेका थिए।















