मुस्ताङबाट कांग्रेसकाे खाता खुल्याे, योगेश गौचन थकाली ३३०७ मतका साथ विजयी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मुस्ताङबाट कांग्रेसकाे खाता खुल्याे, योगेश गौचन थकाली ३३०७ मतका साथ विजयी



काठमाडौँ । हिमाली जिल्ला मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली पुनः निर्वाचित हुने निश्चित भएको छ।

मतगणनाको अन्तिम विवरण अनुसार थकालीले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै विजयको झण्डा गाडेका हुन्। यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ।

अन्तिम मत परिणाम अनुसार कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत मात्रै पाएका छन्। विष्ट र थकालीबीचको मतान्तर निकै फराकिलो देखिएको छ। २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थकालीले यस पटक पुनः आफ्नो विरासत जोगाउन सफल भएका हुन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कमला लालचनले १६१ मत र नेकपाका ङुटुक गुरुङले १५१ मत ल्याएका छन्। मुस्ताङको यस निर्वाचनमा नयाँ र पुराना दलका अन्य उम्मेदवारहरूको उपस्थिति भने निकै कमजोर देखिएको छ।

कुल ११ हजार ३२८ मतदाता रहेको मुस्ताङमा यस पटक ६ हजार ३८८ मत मात्रै खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको मतमध्ये १०७ मत बदर भएको छ। मतगणना कार्य सम्पन्न भइसकेकाले केही बेरमा योगेश गौचन थकालीलाई आधिकारिक रूपमा विजयी घोषणा गर्ने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्