युक्रेनको मुटुमै पुगेर रूसले गर्यो घातक हमला; १० जनाको ज्यान गयो, कीभमा व्यापक विध्वंश
रूसले युक्रेनको राजधानी कीभलाई निशाना बनाउँदै ७४ क्षेप्यास्त्र र झण्डै पाँच सय ड्रोनबाट भीषण आक्रमण गरेको छ, जसमा १० जना सर्वसाधारणले ज्यान गुमाएको पुष्टि भएको छ। राजधानीको सैन्य प्रशासनका प्रमुखले ठूलो संख्यामा नागरिकहरू हताहत भएको र सहरले व्यापक भौतिक क्षति बेहोर्नुपरेको बताएका छन् ।
काठमाडौँ। रूसले युक्रेनको राजधानी कीभलाई मुख्य निशाना बनाउँदै रातभर भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ।
यस घातक हमलामा कम्तीमा १० जना सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना बालबालिकासहित ५६ जना भन्दा बढी मानिस घाइते भएका छन्।
रूसी सेनाले प्रहार गरेका ड्रोन र क्षेप्यास्त्रहरू आवासीय भवनहरूमा खस्दा ठूलो क्षति पुगेको छ। आक्रमणका कारण एक ९ तले आवासीय भवनको आधा भाग पूर्ण रूपमा भत्किएको छ भने एउटा केन्द्रीय बुलेभार्डमा रहेको होटलमा भीषण आगलागी भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले सम्भावित ठूलो आक्रमणको चेतावनी दिएको केही समयमै रूसले यो विनाशकारी हमला गरेको हो। हालैका दिनहरूमा युक्रेनले रूसी भूमिभित्रै छिरेर आक्रमण तीव्र पारेपछि रूसले त्यसको बदलामा यो कदम चालेको बताइएको छ।
युक्रेनी वायुसेनाका अनुसार रूसले रातभरमा कुल ५७० पटक हवाई आक्रमण गरेको छ। जसमा ७४ वटा क्षेप्यास्त्र र ४९६ वटा ड्रोन प्रयोग गरिएका थिए। युक्रेनको हवाई रक्षा प्रणालीले सतर्कतापूर्वक काम गर्दै ४८ वटा क्षेप्यास्त्र र ४७६ वटा ड्रोनलाई आकाशमै खसाल्न वा निष्कृय पार्न सफल भएको दाबी गरेको छ।
तर, प्रतिरक्षा प्रणालीलाई छल्दै २५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र १२ वटा ड्रोन युक्रेनका ३३ वटा फरक-फरक स्थानमा खस्न पुगेका थिए। वायुसेनाले सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै यो आक्रमणको मुख्य निसानामा राजधानी कीभ नै रहेको स्पष्ट पारेको छ। अन्य केही क्षेप्यास्त्रहरूको विस्तृत विवरण संकलन गर्ने र स्पष्ट पार्ने कार्य भइरहेको सेनाले जनाएको छ।
राजधानीमा विनास र मानवीय संकट
कीभका मेयर भिटाली क्लिट्चकोले टेलिग्राममा पोस्ट गर्दै आक्रमणमा परि ज्यान गुमाउनेको संख्या १० पुगेको पुष्टि गरे। रूसी क्षेप्यास्त्र सिधै बजार र आवासीय क्षेत्रमा बज्रिँदा एउटा अपार्टमेन्टको छैटौँ तलासम्मको भाग पूर्ण रूपमा भत्किएको उनले बताए।
मेयर क्लिट्चकोका अनुसार घाइते हुनेहरूमा उद्धार कार्यमा खटिएका एम्बुलेन्स चालक र प्यारामेडिक्सहरू समेत रहेका छन्। आक्रमणबाट क्षतिग्रस्त बनेका आवासीय भवनहरू भित्र अझै पनि केही मानिसहरू थुनिएको र उनीहरूको उद्धारका लागि प्रयास जारी रहेको उनले जानकारी दिए।
राजधानीको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले सहरभरिका झण्डै तीन दर्जन स्थानहरूमा क्षति पुगेको बताए। त्काचेन्कोले बालबालिकासहित ठूलो संख्यामा नागरिकहरू हताहत भएको र सहरले व्यापक भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गरे। जुन महिनायताकै यो सबैभन्दा खराब र भयानक आक्रमण भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
बदलास्वरूप आक्रमण
यसैबीच, रूसी रक्षा मन्त्रालयले टेलिग्राममार्फत एक वक्तव्य जारी गर्दै यस व्यापक आक्रमणको जिम्मेवारी लिएको छ। रूसले लामो दूरीको र अत्यधिक सटिक निसाना लगाउन सक्ने आकाश, जमिन र समुद्रबाट प्रहार गरिने हतियार तथा ड्रोनहरूको प्रयोग गरेर कीभसहितका क्षेत्रमा ठूलो आक्रमण गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार कीभ आसपासका सैन्य तथा ऊर्जा सुविधाहरू र पोल्ताभा तथा ड्निप्रोपेट्रोभस्क लगायतका क्षेत्रमा रहेका सैन्य विमानस्थलहरूलाई सफलताका साथ निशाना बनाइएको छ।
युक्रेनले रूसी नागरिक पूर्वाधारहरूमा गरेको आक्रमणको कडा बदलास्वरूप यो कारबाही गरिएको रूसी रक्षा मन्त्रालयले प्रष्ट पारेको छ।

नागरिकको बिचल्ली, राष्ट्रपतिको भ्रमण छोटियो
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले देशमा ठूलो आक्रमण हुन सक्ने पूर्वानुमान गर्दै देशवासीलाई अगाडि नै सतर्क गराएका थिए। ईयूको चक्रीय अध्यक्षता ग्रहण गर्ने आयरल्याण्डको औपचारिक कार्यक्रममा भाग लिन डब्लिन पुगेका राष्ट्रपति जेलेन्स्की आक्रमणको खतरा बढेपछि आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।
बिहीबार युक्रेनको अधिकांश भूभागमा हवाई आक्रमणको साइरन बज्न थालेपछि नागरिकहरूमा भागाभाग मच्चिएको थियो। राजधानीका बासिन्दाहरू आफ्ना साना बालबालिका, सरसामान, पाल र घरपालुवा जनावरहरू बोकेर ज्यान जोगाउन जमिनमुनि रहेका मेट्रो स्टेशनहरूमा ओइरिएका थिए।
अमेरिकाका लागि युक्रेनी राजदूत ओल्हा स्टेफानिसेनाले सामाजिक सञ्जाल एक्समा लेख्दै सहरका बासिन्दाका लागि यो अर्को एउटा भयानक रात बनेको र नागरिकहरू आश्रयस्थलमा रात बिताउन विवश भएको बताएकी छन्। उनले सहरका विभिन्न जिल्लाहरूमा आवासीय भवन र नागरिक पूर्वाधारहरू ध्वस्त भएको र जताततै आगलागीका घटना भइरहेको उल्लेख गरेकी छन्।














