२७ माघ २०७६, सोमबार

आर्थिक पत्रकार, पत्रकारिता र आचारसंहिता



डा. गोविन्दबहादुर थापा



 २०४६ सालको परिवर्तन पछि देशको अर्थतन्त्रबारे जनताले विशेष रूपमा चासो राख्न थालेका हुन् । यो चासो दिन प्रतिदिन तीव्ररूपमा बढ्दै गइरहेको छ । राजनीतिक दल, उद्योग व्यापार व्यवसायमा संलग्न व्यक्तिहरू, नागरिक समाज, उपभोक्ता, कर्मचारी, विद्यार्थी अर्थात् समाजका सबै तह र तप्काका मानिस देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी राख्न उत्सुक छन्, हुन्छन् । तर जानकारीको उद्देश्य सबैको एउटै नहुन सक्दछ ।

सत्तासीन दलले आफ्नो पालामा भएका प्रगति अरूलाई जानकारी गराउन अर्थतन्त्रको बारेमा जान्न चाहान्छ । प्रतिपक्षले आर्थिक क्षेत्रमा सरकारका कमजोरी र असफलता थाहा पाउन र त्यसको आलोचना गर्न अर्थतन्त्रको बारेमा जानकारी राख्न चाहान्छ । उद्यमी व्यापारीहरूले कुन क्षेत्रमा लगानी गर्नु राम्रो होला, उपभोक्ताहरूले मूल्यको बारेमा, वैदेशिक व्यापारमा संलग्न व्यापारीहरूले विदेशी मुद्राको उपलब्धता र विनिमय दरको बारेमा जानकारी लिन चाहान्छन् ।

यही जनचाहाना बुझेर सबै किसिमका सञ्चार माध्यमले आज आर्थिक सूचना प्रवाह गर्ने कामलाई प्राथमिकता दिएका छन् । 
यसरी अर्थतन्त्रको बारेमा जानकारी राख्ने चाहानाको तीव्र बिस्तार हँुदै गएको छ । अर्थतन्त्र जति बिस्तारित हुँदै जान्छ त्यस्तो चाहना राख्नेहरूको सङ्ख्या पनि बढ्दै जान्छ । र, सञ्चार माध्यमले पनि अर्थतन्त्रका विविध पक्षको कभरेज बढाउँदै जान्छ ।

त्यसैको फलस्वरूप यतिखेर अर्थतन्त्रका सूचना मात्रै प्रवाह गर्ने दुईवटा दैनिक पत्रिका विगत एक दशकभन्दा बढी समयदेखि प्रकाशित भइरहेका छन् भने सबै ब्रोडसिटका प्रिन्ट मिडियाले छुट्टै आर्थिक पेजहरू छाप्न सुरु गरेको पनि धेरै भइसकेको छ । सँगसँगै अर्थतन्त्रको बारेमा समाचार सङ्कलन गरी सम्प्रेषण गर्ने, आर्थिक विषयमा स्तम्भ र लेखहरू लेख्ने आर्थिक पत्रकारहरूको जमात पनि ठूलै भएकोले यसको एउटा छुट्टै समाज नै गठन भइसकेको छ । यी सबै सकारात्मक दिशातर्फ अगाडि बढिरहेका कुरा हुन् । 


मलाई सम्झना छ, यो २०५३, ५४ सालतिरको कुरा हो, जतिखेर ब्रोडसिट पत्रिकाले भर्खर भर्खर आर्थिक पृष्ठहरू निकाल्न थालेका थिए र गजेन्द्र बुढाथोकी, विजय घिमिरे, प्रेम खनाल, रामचन्द्र भट्ट, नारायण सापकोटाहरू त्यो काममा विभिन्न दैनिक पत्रिकाहरूमा आवद्ध भएका थिए । तर सुरुवाती समय भएकोले आर्थिक समाचारहरूको गुणस्तर कमजोर हुन्थ्यो ।

म त्यतिखेर नेपाल राष्ट्र बैङ्कको बैकर्स प्रशिक्षण केन्द्रमा कार्यरत थिएँ । र, अखबारका आर्थिक पेजहरू पढ्दा मलाई लाग्यो कि आर्थिक समाचारहरूको स्तर बढाउन आर्थिक पत्रकारहरूलाई प्रशिक्षण दिईनु पर्दछ । र, शुद्ध मेरो पहलमा यस बारेमा मैले गभर्नर हरिशङ्कर त्रिपाठीसँग कुरा गरेँ ।

गभर्नरले मेरो प्रस्ताबको एप्रेशियट गर्दै दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने स्वीकृति दिनुभयो । र, प्रशिक्षण केन्द्रले त्यो कार्यक्रम सञ्चालन ग¥यो । माथि उल्लेखित पत्रकारहरूले बढो उत्साहका साथ त्यसमा भाग लिनुभयो । त्यस मध्येका केही अहिले वरिष्ठ आर्थिक पत्रकार बनिसक्नु भएको छ । गजेन्द्र बुढाथोकीले त नेपाली अर्थतन्त्रको उदारीकरणको बारेमा पुस्तक नै लेख्नुभएको छ । 


नेपालमा त्यो अवस्थाबाट वि.सं. २०५० को दशकको आरम्भबाट सुरु भएको आर्थिक पत्रकारिता अहिले यो स्तरमा आइपुगेको छ र यसको गुणस्तरमा पनि उल्लेखनीय प्रगति भएको हामी यस क्षेत्रका मानिसहरूले अनुभव गरिरहेका छौँ । अहिले आर्थिक पत्रिका र पत्रिकाका आर्थिक पृष्ठहरू हेर्दा यसमा संलग्न पत्रकारहरूले प्रगतिपथमा ठुलो फड्को मार्नुभएको छ र त्यसको लागि प्रशस्त मेहनत पनि गर्नुभएको छ । यसको लागि म हिजो र आजका सम्पूर्ण आर्थिक पत्रकारहरू र ती सम्बद्ध सञ्चारगृहहरूलाई बधाई दिन चाहान्छु ।


तर अझै पनि यो क्षेत्रले पूर्णता पाइसकेको छैन र पाउने कुरा पनि होइन किनभने आर्थिक क्षेत्रमा हरबखत नयाँ नयाँ अवधारणाहरू आइरहन्छन्, अर्थतन्त्रमा जटिल बन्दै जान्छ र तिनको अभ्यास पनि भइरहन्छ । यस्ता कुराप्रति पत्रकारहरू सधैँ सजग भई सिक्दै जानुपर्दछ । नयाँ कुराको अन्त्य नभएजस्तै सिक्ने कुराको पनि अन्त्य हुँदैन । 


अवधारणाहरू

अर्थतन्त्र अगाडि बढ्दै जाँदा वा त्यसले जटिलता लिदै जाँदा नयाँ–नयाँ अवधारणा र शव्दावली वा जार्गनहरू प्रयोगमा आउँदै जान्छन् । यस्ता अवधारणा र जार्गनहरू अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क, एशियाली विकास बैङ्क, विश्व व्यापार संगठन, अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयका लेख, कार्यपत्र र पुस्तकमार्फत आउँछन् । र, तिनलाई देशका अर्थ मन्त्रालय, केन्द्रिय बैङ्क, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, वाणिज्य बैङ्कहरू आदिबाट अभ्यास गरिन्छन् ।

उदाहरणको रूपमा  Fiscal Space,  medium term targets, auction selling of government bonds, Repo, Reverse Repo, monetary aggregates, BOP, Current account, reserve requirement, foreign exchange reserve, inflation, derivatives Fiscal Space,  medium term targets, auction selling of government bonds, Repo, Reverse Repo, monetary aggregates, BOP, Current account, reserve requirement, foreign exchange reserve, inflation, derivatives आदिलाई लिन सकिन्छ । यस्ता शब्दावलीको अर्थ आर्थिक पत्रकारहरूले प्रष्टसँग बुझ्नुपर्दछ ।


 वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रका दुई मुख्य समष्टिगत आर्थिक नीति (म्याक्रोइकोनोमिक पोलिसी) हुन् । यिनै नीतिको आधारमा सबैै देशका अर्थतन्त्र सञ्चालित हुन्छन् । त्यसैले आजका आर्थिक पत्रकारहरूले यी दुवै नीतिका सैद्धान्तिक अबधारणाहरू प्रष्टसँग बुझ्नु जरुरी हुन्छ । केन्द्रीय बैङ्क देशको मौद्रिक अधिकारी हो, जसको मौद्रिक नीति बनाउने र कार्यान्वयन् गर्ने जिम्मेवारी हुन्छ भने अर्थ मन्त्रालय देशको वित्त अधिकारी हो, जस्ले देशको वित्त नीति बनाउँछ र कार्यान्वयन गर्दछ ।

देशको कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत र लगानी, वैदेशिक व्यापार, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, रोजगारीको स्थिति, मूल्य वृद्धि, विनिमय दर, ब्याजदर आदि समष्टिगत आर्थिक परिसूचक हुन् । आजका आर्थिक पत्रकारहरूले यी सबै अवधारणाका बारेमा बुझ्नु पर्दछ । साथै यी सबै अवधारणाअन्तर्गतका शब्दावली(जार्गन)हरू पनि बुझ्नुपर्दछ ।

यी दुवै नीति कार्यान्वयन गर्ने क्रममा केन्द्रीय बैङ्क र अर्थ मन्त्रालयले गर्ने निर्णयमा अन्तर्निहित धारणा र प्रक्रियाको बारेमा पनि प्रष्ट हुनु उत्तिकै जरुरी हुन्छ । केही दिन पहिले नेपाल राष्ट्र बैङ्कले गरेको अटो लोन नियन्त्रणसम्बन्धी व्यवस्थाको बारेका केही सञ्चार माध्यमले कुरै प्रष्ट नबुझी लेखेको मैले पढेँ । त्यस्तो हुनु हुँदैन ।

विश्वसनीयता

कुनै पनि सञ्चारमाध्यमको प्रतिष्ठा र लोकिप्रियता उसको विश्वसनीयतामा भर पर्दछ भन्ने कुरा मैले बताइरहनु पर्दैन । यसको निमित्त घटना वा स्टोरी सत्य तथ्यमा आधारित हुनुपर्दछ भन्ने कुरा पनि जगजाहेर नै छ । त्यसको निमित्त पत्रकारहरूले केही मेहनत गर्नु पर्दछ । घटना वा स्टोरीको साङ्गोपाङ्गो कुरा खोतल्नु पर्दछ र त्यसलाई क्रस भेरिफिकेसन गर्नु पर्दछ भन्ने कुरा पनि सबैले बुझेकै कुरा हो । सत्य तथ्य खोतल्न र क्रस भेरिफिकेसन गर्न पनि त्यो विषयसँग सम्बन्धित सैद्धान्तिक अवधारणा बुझ्नु पनि उत्तिकै जरुरी हुन्छ ।

व्यवसायिक सञ्चारमाध्यम समाचारलाई सन्सनिखेज बनाउने झुकाउ राख्दछ । यसलाई म अनुचित ठान्दिनँ तर त्यस्तो समाचार सत्यतथ्यमा आधारित र पूर्वाग्रहरहित भने हुनुपर्दछ । कुनै पनि निकाय वा व्यक्तिलाई खुईल्याउने वा पतन गराउने मनसाय राखेर स्टोरी बनाउने र त्यसको पछि लागिरहनुलाई पनि म उचित ठान्दिनँ । यसो गर्दा सञ्चारमाध्यमको विश्वसनीयतामा आँच आउँछ । कहिलेकाहीँ यस्ता कुरा विज्ञापन वा अरू कुरासँग जोडिएर आउँछन् । यो झनै अनुचित हो भन्ने मलाई लाग्दछ । 

सञ्चारमाध्यमको धर्म घटेका घटना र स्टोरीको विषयमा जनतालाई यथाशक्य छिटो सही जानकारी दिनु हो, जसका आधारमा पाठकले सम्बन्धित घटना र स्टोरीको विषयको बारेमा आफ्नो धारणा बनाउँछन् । आर्थिक पत्रकारहरूको जिम्मेवारी त अझ ठूलो हुन्छ किनभने सञ्चारमाध्यमबाट प्राप्त जानकारीको आधारमा कतिपय पाठकले आफ्नो भावी कारोबारको योजना, कार्यक्रम र लक्ष्य बनाउँछन् । यस्तो गम्भीर जिम्मेवारी आर्थिक पत्रकारहरूको हुन्छ । त्यसैले यस्तो जिम्मेवारीलाई आर्थिक पत्रकारहरूले हरबखत मनमा राख्नु पर्दछ ।
आचारसंहिताको सम्बन्धमा

पत्रकारितालाई नै आफ्नो ‘करिअर’ बनाउने लक्ष्य भएका पत्रकारहरू आफ्नो व्यवसायिक धर्ममा हरबखत अड्न सक्नु पर्दछ । यो काम सजिलो पक्कै छैन । आचारसंहिताले निर्धारण गरेका सीमा नाघ्न मन लाग्ने परिस्थिति पटक–पटक आउन सक्दछन् तर बच्न सक्नु पर्दछ । यसो गर्नु चुनौतीपूर्ण अवश्य छ तर जस्तै परिस्थितिमा पनि अड्न सक्ने मात्र अघि बढ्न सक्दछन् अन्यथा बिचमै वहकिन्छन् र आफ्नो करिअर बर्बाद पार्दछन् । किनभने त्यति बेलासम्म हिँडेको बाटो छोडेर नयाँ बाटो लाग्दा धेरै टाढा पुग्न सकिदैन । 


 यो बुझ्न सकिन्छ कि पत्रकारका पनि परिवार, बालबच्चा हुन्छन्, तिनका आवश्यकताहरू पुरा गर्न सजिलो छैन । साथै पत्रकारिता अरू पेसाजस्तो पैसा आउने (लुक्रेटिभ) पेसा पनि होइन । नेपालमा त झनै होइन । त्यसैले नेपालमा यो व्यवसायमा टिक्न र परिवारलाई साथै लिएर अघि बढ्न निकै कठिन छ । यस्तो अवस्थामा जोगिएर अघि बढ्न सजिलो छैन । तर असम्भव भने होइन । त्यसको लागि सङ्कल्प, मेहनत, धैर्य, इमान्दारिता र मितव्ययी हुनु पर्दछ । गाह्रो पर्दा छोडिदिऊँ कि क्या हो भनेर धर्मराउन थालियो भने सकियो भनेर बुझे हुन्छ ।

म मेहनत र मितव्ययितालाई विशेष महत्व दिने मानिस हुँ । तर यसको अर्थ अरू महत्वपूर्ण छैनन् भन्ने होइन । मेहनत गर्न पटक्कै गाह्रो नमान्ने र मितव्ययी मान्छेले कहिल्यै दुःख पाउँदैन भन्ने गहिरो विश्वासबाट म हरबखत निर्देशित छु । खर्चिलो बानी भएको मान्छेलाई जति आम्दानी भए पनि पुग्दैन र सधैँ अभाव भइरहन्छ । खर्च जुटाउन त्यस्ता मानिसले गर्न नहुने अनेक काम गर्दै जान्छन् र त्यस्ता मानिसको अन्त्य दुखद् हुन्छ ।

नियमित राम्रो आम्दानीको बाटो नभएका राजनीति गर्नेहरू खर्चिला भएकैले देशमा भ्रष्टाचार बढेको हो । उनीहरू कतैबाट नाजायज पैसा नलिने भई दिएको भए देशमा यति साह्रो भ्रष्टाचार झाङ्गिने थिएन । राजनीति गर्नेहरू अवैध काम गराएर अवैध पैसा लिन्छन् र ऐन बनाएर आफू सुरक्षित रहन्छन् । त्यसैले खर्चिलो हुनु दुख र असफलताको मुलः कारण हो भन्ने मेरो निष्कर्ष र विश्वास हो । त्यसैगरी अल्छी मानिसको कहिल्यै प्रगति हुँदैन ।


आजको कामलाई भोलि नभन्ने, प¥यो भने जुनसुकै बेला पनि काम गर्न तयार हुने र समयमा काम सम्पन्न गर्ने मानिसको अवश्य प्रगति हुन्छ भन्ने मेरो गहिरो विश्वास छ । सूचना सङ्कलन गर्ने, अध्ययन गर्ने र लेख्ने व्यवसाय हुनेको लागि त यस्तो हुनु झन् आवश्यक र महत्वपूर्ण हुन्छ । किनभने कतिपय यस्ता कुरा समय घर्केपछि गरियो भने त्यसले महत्व गुमाउँछ ।

बजारमा पर्याप्त प्रतिस्पर्धा भएको सञ्चार क्षेत्रमा समयमा काम सक्ने कुरा झनै महत्वपूर्ण हुन्छ । अतिरिक्त आर्थिक उपार्जनको निमित्त पनि मेहनत गर्नैपर्ने हुन्छ । लामो समयसम्म नियमित रूपमा आर्थिक पत्रकारिता गर्दा अर्थतन्त्रका बारेमा धेरै कुरा थाहा हुन्छ र त्यसमा केही थप कुराहरू जम्मा गरेर राम्रो पुस्तक लेख्ने÷प्रकाशित पनि गर्ने गर्नु पर्दछ ।


(डा. थापाद्वारा प्रेस काउन्सिल नेपालमा मिति २०७६ माघ २७ मा प्रस्तुत कार्यपत्र ) 


प्रतिक्रिया दिनुहोस्