वैदेशिक रोजगार सम्बन्धी बैठक सम्पन्न « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

वैदेशिक रोजगार सम्बन्धी बैठक सम्पन्न



काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाउने सम्बन्धमा बैठक बसेको छ ।

संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकमा वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याहरु, वैदेशिक रोजगारीमा भएका समस्याका समाधानका गैरआवासीय नेपाली संघको भूमिका, वैदेशिक रोजगार कोषको प्रभावकारी उपयोग, वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा, संघको वैदेशिक रोजगारी सम्बन्धमा आधिकारीक धारणामा समेटिने विषयहरुमा छलफल गरिएको छ ।

कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरुले माथिका विषयहरुमा रहेर आआफ्ना धारणा व्यक्त गरेका थिए । विज्ञ तथा सरोकारवालाहरुले आधिकारीक धारणा पत्र बनाउन लागेकोमा हार्दिक धन्यवाद प्रकट गरे ।

वैदेशिक रोजगारी सम्बन्धि आफ्ना धाराणाहरु पनि राखेका थिए । संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गरेका थिए । साथै उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन संघलाइ ध्यानाकर्षण गराए ।

संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बारे जानकारी दिए ।

साथै उनले संघले वैदेशिक रोजगार सम्बन्धि आधिकारीक धारणा पत्र बनाउन गईरहेको बारे जानकारी दिदै राय सुझावहरु दिनको लागि अनुरोध गरे ।

माथिका उल्लेखित विषयहरु बाहेक बैठकमा सहभागीहरुले हालै विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गंभिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने तर्फ विचार गर्न र विदेशको अनुभव ज्ञान र श्रोत उपयोग गर्न अनुरोध गरेका थिए ।

यस कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमशः डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारबालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्