पाँच वटा सिमेन्ट कम्पनीको ग्रेड निरीक्षण अर्काे साता हुने « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

पाँच वटा सिमेन्ट कम्पनीको ग्रेड निरीक्षण अर्काे साता हुने



काठमाडौं । गुणस्तर तथा नापतौल विभागले आगामी साता सिमेन्टमा ग्रेड लेख्न आवेदन दिएका कम्पनीको निरीक्षण गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सिमेन्टमा ४३ र ५३ ग्रेड लेख्ने व्यवस्थाका लागि राजपत्रका सूचना प्रकाशित गर्ने निर्णय कार्यान्वयन भएसँगै विभागले आवेदन दिएका कम्पनीको निरीक्षण गर्न लागेको हो । आफ्नो उत्पादनमा ग्रेड लेख्न मारुती, शिवम्, होङ्सी, रिद्धिसिद्धि, अर्घाखाँचीलगायतका उद्योगले विभागमा आवदेन दिएका छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्रेड लेख्ने व्यवस्थाका लागि राजपत्रमा सूचना प्रकाशित भएको र आगामी साता आवेदन दिएका कम्पनीको निरीक्षण गरिने बताए । उनले उद्योगको निरीक्षण गरेपछि उद्योगीले ग्रेड लेखेर आफ्ना उत्पादन बजारमा पठाउन सक्ने बताए ।

सिमेन्ट उद्योगीहरूले आफ्नो उत्पादनमा ग्रेड लेख्न पाउनुपर्ने माग गर्दै आएका थिए । उनीहरूको माग माघ ५ गते बसेको गुणस्तर परिषदको १०२ औं बैठकले सम्बोधन गरी ओपिसी सिमेन्टको ४३ र ५३ ग्रेड गुणस्तर निर्धारण गर्ने निर्णय गरेको थियो । सरकारले ओपिसी सिमेन्टमा ३३ ग्रेडलाई भने यथावत राखेका छ ।

बलियोपना ‘स्ट्रेन्थ’ भएको सिमेन्ट उत्पादन गरेमा ४३ र ५३ ग्रेड पाउने व्यवस्था यसअघि थिएन । यसअघि नेपाल गुणस्तर इजाजत ०४९ अनुसार सिमेन्ट उत्पादन गर्न पाएका थिए अब नयाँ ग्रेडमा जाँदा नयाँ एनएस कम्पनीले पाउनेछन ।


प्रतिक्रिया दिनुहोस्