६ महिनादेखि उडान ठप्प हुँदा यात्रुलाई सास्ती « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

६ महिनादेखि उडान ठप्प हुँदा यात्रुलाई सास्ती



काठमाडौं । विगत ६ महिनादेखि भोजपुर–विराटनगरको नियमित हवाई उडान ठप्प हुँदा यात्रु मारमा परेका छन् । विभिन्न प्राविधिक समस्या देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगम र निजी सेवा प्रदायक कम्पनीले नियमित उडान नगर्दा बिरामी र वृद्धवृद्धालाई सास्ती भएको छ । उडान नहुँदा दैनिक ९ घण्टा लामो कष्टकर यात्रा गरेर धरान, विराटनगर गर्नुपर्ने बाध्यता छ । जिल्ला अस्पताल भोजपुरबाट रेफर गरिएका गम्भीर बिरामीलाई एम्बुलेन्स र हेलिकप्टर चार्टर अन्तिम विकल्प बनेको छ ।

भोजपुरबाट काठमाडौँका लागि हप्ताको सातै दिन निगमको ट्विनअटर विमानले उडान भरेपनि विराटनगरका लागि भने ठप्प छ । यात्रु तथा विरामीहरु काठमाडौँ पुगेर विराटनगर आउनुपर्ने दोहोरो बाध्यता छ ।
यसअघि आइतबार, मंगलबार र बिहीबार गरी ४ पटक उडान भर्दै आएको निगमले यात्रु संख्या घटेको भन्दै केही समयका लागि उडान रद्द गरिएको नेपाल वायु सेवा निगम भोजपुरका स्टेशन इन्चार्ज दिनेश सुन्दासले बताए ।

र्वसाधरणको माग बढ्दै गएकाले नियमित उडान सञ्चालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालासँग माथिल्लो निकायमा निवेदन गरिएको निगम भोजपुरका निमित्त एटीसी अफिसर विक्रमसिं बस्नेतले बताए ।


प्रतिक्रिया दिनुहोस्