पहाडी र हिमाली जिल्लामा उल्लासका साथ होली मनाईँदै « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

पहाडी र हिमाली जिल्लामा उल्लासका साथ होली मनाईँदै



काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व सोमबार हिमाली र पहाडी जिल्लामा मनार्इँदै छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

यस पर्वका अवसरमा सोमबार काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाएका छन । चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । सोमबार राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । तराईमा मङ्गलबार होली मनाइँदै छ ।

यो चाडमा थकाली रङ्गीबिरङ्गी पोशाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यजनक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।

यसैगरी श्रीलङ्का र इन्डोनेशियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेशियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।


प्रतिक्रिया दिनुहोस्