होलीमा प्रभावकारी ट्राफिक व्यवस्थापन, नियम उल्लङ्घन गर्ने १९४१ सवारी चालक कारवाहीमा « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

होलीमा प्रभावकारी ट्राफिक व्यवस्थापन, नियम उल्लङ्घन गर्ने १९४१ सवारी चालक कारवाहीमा



काठमाडौं । होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने १ हजार ९ सय ४१ चालकलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले सोमबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ६ सय ४५ दुईपाङ्ग्रे र २ सय ९६ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए ।

बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखालगायत उपत्यकास्थित सम्पूर्ण ट्राफिक कार्यालयहरूले ७६ स्थानमा विशेष ट्राफिक चेकजाँच गरेको, त्यस्तै १४ वटा मोबाइल भ्यानवाट मोवाईल चेकजाँच तथा मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरेको महाशाखाका प्रमुख ढकालले बताए ।

यसैगरी काठमाडौं उपत्यकामा सोमबार २० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन् भने कुनै पनि मानवीय क्षति भएको छैन ।

ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना समेत लागु गरी प्रभावकारी कार्यान्वयन गरेको जानकारी दिएको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँचलाई समेत कडा पारिएको थियो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार महाशाखाले नियमित ड्यूटी वाहेक होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन ५६६ भन्दा बढी ट्राफिक प्रहरी खटाएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्