चीनसँग जोडिएको गाउँलाई कोरोना भन्ने थाहै छैन « Arthapath.com
३ चैत्र २०७६, सोमबार

चीनसँग जोडिएको गाउँलाई कोरोना भन्ने थाहै छैन



काठमाडौं । विश्वका ७० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस संक्रमणबारे जानकारी नभएका मानिस अहिले कमै होलान । दोलखाको दुर्गम र कुनाको गाउँ भनेर चिनिने लुम्नाङका बासिन्दाले भने कोरोना भाइरसबारे थाहा पाएकै छैनन । महामारी बनेको कोरोनाबारे थाहा नपाएकाले उनीहरू संक्रमण होला भनेर डराएका छैनन पनि ।

चीनसँग सीमा जोडिएको दोलखाको उत्तरी विगु गाउँपालिका(१ लामाबगरको सबैभन्दा दुर्गम लुम्नाङ गाउँमा न त मोबाइल फोन नै चल्छ न सञ्चारको कुनै अर्को माध्यम नै छ । करिब २० घरधुरी रहेको लुम्नाङका अगुवा भुजुङ शेर्पाले कोरोनासम्बन्धी प्रश्नमा भने, ‘हामीलाई त थाहा छैन, रेडियो नि सुन्दैन।’ विभिन्न देशमा गरी धेरैको मृत्यु भएको बताएर सोध्दा उनले भने, ‘कोरोना थाहा छैन, डर नि लाग्दैन ।’

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध रहेको लामाबगरबाट एक दिन हिँडेर पुगिने लुम्नाङको जनसंख्या मुस्किलले ८० छ। लडेर चोट लाग्नुबाहेक हत्तपत्त रोग नलाग्ने लुम्नाङका आङनुर्बु शेर्पाले बताए। ‘त्यस्तो रोग त थाहै छैन’, उनले भने । लुम्नाङमा निकै पहिला विद्यालय थियो, अहिले छैन। त्यहाँका बालबालिका लामा पढ्न विभिन्न गुम्बामा जानुबाहेक अध्ययनको अन्य कुनै सुविधा छैन। अन्यको आवतजावत न्यून हुने सो क्षेत्रमा रोगव्याधी पनि न्यून मात्र लाग्ने गरेको विगु गाउँपालिकाका स्वास्थ्य संयोजक ईश्वर खड्काको भनाइ छ ।

चीनको कुती पुग्न लुम्नाङबाट पैदल १० देखि १३ घण्टा लाग्ने भएकाले बाहिरका मान्छेसँग भेटघाट हुँदैन । लामाबगर पुग्न पनि त्यति नै समय लाग्छ। चौंरीजन्य उत्पादन र भेडाको घ्यु बेच्ने बेलामा मात्र अन्यत्रका मानिस देख्न पाउँछन् लुम्नाङवासीले। मौसमअनुसार वर्षभरि ६ ठाउँ बसाइँ सरेर चौंरी र भेडा पालेर जीविकोपार्जन गर्ने शेर्पा समुदायको बसोबास रहेको लुम्नाङका बासिन्दा मुस्किलले वर्षमा एकपल्ट लामाबगर वा चीनको कुती पुग्छन ।अन्नपुर्ण पोष्टबाट


प्रतिक्रिया दिनुहोस्