कोरोनाः लामो दूरीका सवारी आवागमन बन्द

काठमाडौं । कोभिड–१९ को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन बन्द गरिएको छ ।
सरकारको सोमवारदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतवार बसेको बैठकले सोमवारदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो ।
सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो ।
महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिए । तर उनले भने उपत्यका र छोटो दूरीमा चल्ने सवारीसाधन सञ्चालनमा रहेका छन ।