तनहुँका दैनिक पत्रीका बन्द « Arthapath.com
११ चैत्र २०७६, मंगलवार

तनहुँका दैनिक पत्रीका बन्द



दमौली । कोभिड–१९ को प्रभावले तनहुँबाट प्रकाशन हुने दैनिक पत्रपत्रिका आजदेखि बन्द गरिएका छन् । दमौलीबाट प्रकाशन भइरहेका सात र दुलेगौँडाबाट प्रकाशन भइरहेको एक गरी आठ दैनिक पत्रपत्रिका आजदेखि बन्द गरिएको हो ।
बजारमा देखिएको त्रास र छाएको मन्दीका कारण पनि पत्रिकाको प्रकाशन रोकिएको सम्बन्धित पत्रपत्रिकाका सम्पादकहरुले जानकारी दिएका छन् । देशमा देखिएको विषम परिस्थितिमा उच्च सतर्कता अपनाउनुपर्ने भएकाले संस्थासँग आबद्ध कर्मचारी पनि जोखिममा पर्न सक्ने भन्दै केही समयका लागि प्रकाशन बन्द गरिएको भञ्ज्याङ दैनिकका सम्पादक नारायण खड्काले जानकारी दिनुभयो । “मुलुक अहिले लकडाउनको अवस्थामा पुगेको छ, यो अवस्थामा हामी सबै क्षेत्र गम्भीर भएर सरकारको निर्देशन पालना गर्नुपर्ने दायित्व हो,” खड्काले भन्नुभयो, “सहज अवस्था नभएसम्मका लागि बजारमा पत्रिका बिक्री वितरण रोकिएको छ ।”
समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा जानसक्ने अवस्था नरहेको हुँदा पत्रिकाको प्रकाशन रोक्नुपरेको लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो । पत्रिकाको संस्करण बन्द गरिएपनि अनलाइन भएका पत्रपत्रिकाले भने अनलाइनलाई निरन्तरता दिने बताएका छन् । खबरबाटिकाका साप्ताहिक एवं खबरबाटिका अनलाइनका सम्पादक समुन्द्र पौडेलले अनलाइनबाट सूचना तथा समाचार प्रवाह गरिने जानकारी दिनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्