आजबाट खाद्यान्न पसल सञ्चालनमा आउने, लकडाउनको समयावधि लम्बिन सक्ने « Arthapath.com
१२ चैत्र २०७६, बुधबार

आजबाट खाद्यान्न पसल सञ्चालनमा आउने, लकडाउनको समयावधि लम्बिन सक्ने



काठमाडौँ । सरकारले आजबाट खाद्यान्न पसल दिनभर सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा उपभोक्ताको भीड बढेपछि दिनभर पसल खोल्न दिने निर्णय गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अस्ति गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन ।

जसका कारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो । गृह मन्त्रालयका सह–सचिव केदारनाथ शर्माले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युतलगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउनुभयो । उहाँले अत्यावश्यक सेवा र मालबहाक सवारीसाधन पनि चल्ने बताउनुभयो ।

सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयमा सुरक्षा निकायले बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ । आमनागरिकको हितमा सरकारले निर्णय गरेकाले सबैले आफैं निर्देशन पालना गर्नु नै हितकर हुने नेपाल प्रहरीका प्रवक्ता, शैलेश थापाले बताउनुभयो ।

प्रहरीले सरकारले गरेको लकडाउनको ९९ प्रतिशत पालना भएको जनाएको छ । प्रहरीले हिजो देशभरबाट ६८ जना व्यक्तिलाई नियन्त्रणमा लिएर साँझतिर सम्झाइबुझाइ छोडेको थियो । लकडाउन उल्लङ्घन गरी सञ्चालन गरिएका एक हजार ५ सय ७१ सवारी साधन पनि नियन्त्रणमा लिइएको थियो ।

यसैबीच सरकारले परिस्थिति अनुसार लकडाउन लम्बिन सक्ने जनाएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आकस्मिक रूपमा आइपरेको परिस्थितिका कारण यस्तो भएकाले अहिले नै अनुमान गर्न नसकिने स्पष्ट पार्नुभयो ।

यसबीचको सबै घटनाक्रमलाई अध्ययन गरेर आवश्यकता अनुसार थप लकडाउनको समयावधी बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । सीआइएनबाट


प्रतिक्रिया दिनुहोस्