आमाको मृत्यु भएको भनी पास लिएर आत्रु ओसार्दै « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

आमाको मृत्यु भएको भनी पास लिएर आत्रु ओसार्दै



काठमाडौं । आमा मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिइ गाडीमा यात्रु ओसारेको फेला परेको छ । झुठो विवरण पेश गरी सवारी पास बनाएर प्रयोग गरेको पाइएपछि ललितपुरबाट तीन जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा घर भइ ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारायण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र सोही नगरपालिका–५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकाले काजक्रिया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो विवरण पेश गरी सवारी पास लिएको खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले चैत २४ र २५ गतेका लागि ३–०८–००५ ख ९१९८ नम्बरको बसको पास लिएर ३० जना यात्रु बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उपत्यकामा नौ हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले लकडाउन उल्लङ्घन गर्ने दुईदेखि तीन हजारलाई दैनिक कारवाही गरिरहेको समेत बताए। प्रहरीले उपत्यकामा आजमात्रै लकडाउन उल्लङ्घन गर्ने एक हजार ६०० लाई कारवाही गरिसकेको छ । आजसम्म २५ हजार बढीलाई कारवाही गरिएको पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्