कोरोना लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

कोरोना लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता



सप्तरी। स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि उनीहरूलाई बिदाइ गरिएको हो ।

राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलबाट एक महिला र नौ पुरुष, कञ्चनरूप नगरपालिका–८ स्थित सर्वोदय माविबाट १० पुरुष, विष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि विष्णुपुर कट्टीबाट नौ पुरुष तथा छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालाबाट एक महिला र सात पुरुष घर फर्किएका हुन् ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएकाहरूलाई तत्काल घरमै सुरक्षित बस्न निर्देशन दिई आफन्तको जिम्मा लगाएर घर पठाइएको बताउनुभयो । मजदुरीका लागि भारत, मलेशिया, कतार, साउदी अरबलगायत विभिन्न देश गएका उहाँहरू नेपाल फर्किएपछि क्वारेन्टाइनमा बस्नुभएको थियो ।
अहिले क्वारेन्टाइनमा १४ पुरुष थपिएका छन् । महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहामा छ, सुरुङ्गा नगरपालिका–५ स्थित मसिलाल मावि कुशहामा चार, राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घोमा तीन र अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनचेतना मावि घोघिदाहामा एक पुरुष क्वारेन्टाइनमा थपिएका हुन् । अब क्वारेन्टाइनमा सात महिला र २२० पुरुष रहेका छन् ।

कोरोना सङ्क्रमणको आशङ्कामा सप्तरीको राजविराजस्थित आइसोलेसनमा भर्ना हुनुभएकी एक महिलाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई पनि घर फर्काइएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको आइसोलेसनमा बस्नुभएकी कञ्चनरूप नगरपालिका–११ गोरपारकी महिलाको रिपोर्ट नेगेटिभ आएको र ज्वरोलगायत अन्य स्वास्थ्य समस्या नरहेपछि घर फर्काइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । कोरोनाको लक्षण नभेटिएको र परिवारका सदस्यहरूसँग लामो समयपछि भेंट हुने दोहोरो खुशी लिएर घर फर्किएको कञ्चनरूपकी लीलादेवी खङ्गले बताउनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्