भारतीय क्वारेन्टाइनमा नेपालीहरुको बिचल्ली, कोसैको पनि स्वास्थ्य परीक्षण भएन « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

भारतीय क्वारेन्टाइनमा नेपालीहरुको बिचल्ली, कोसैको पनि स्वास्थ्य परीक्षण भएन



काठमाडौं । लकडाउनका कारण स्वदेश फर्कन नपाएका नेपालीहरु भारतीय क्वारेन्टाइनमा कोचिएर बस्न बाध्य भएका छन्। सीमावर्ति भारतको बहराइच जिल्लाको नानपारास्थित राजकीय इन्टर कालेजको क्वारेन्टाइनमा ३२ जना नेपालीलाई राखिएको छ।

क्वारेन्टाइनमा सुरुमा १७ जना थिए। पछिल्ला दिनहरुमा संख्या थपिदै गएपछि अहिले ३२ जना पुगेको छ। क्वारेन्टाइनमा नेपालीहरुलाई राखिएको एक हप्ताभन्दा बढी भइसके पनि हालसम्म कसैको पनि स्वास्थ्य परीक्षण गरिएको छैन। क्वारेन्टाइनमा बस्ने अधिकाशसँग मास्क पनि छैन। त्यहाँ रहेका ३२ जनै नेपालीलाई दुई वटा ठूलो कोठामा राखिएको क्वारेन्टाइनमा रहेका कैलालीका नरबहादुर साउदले जानकारी दिए।

नेपालीहरुलाई राखिएको क्वारेन्टाइनमा करिब २ सय ५० जना भारतीय नागरिकहरुलाई पनि राखिएको छ। आफूहरुको अवस्था बुझ्न नेपाल सरकारका कुनै पनि प्रतिनिधि नआएको उनीहरुको गुनासो छ। नेपाल सरकारले आफ्नो अवस्थाबारे कुनै चासो नराखेका कारण क्वारेन्टाइनमा पनि कैदीबन्दीजस्तै बस्नु परेको साउदले बताए।

विज्ञहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि कम्तीमा ३ फिटको दूरीमा अपनाउनुपर्ने सुझाव दिए पनि एउटै कोठामा धेरै जना कोचिएर बस्नु परेको उनीहरुको गुनासो छ। क्वारेन्टाइनमा खाना खान र नुहाउन पाए पनि शौचालयको समस्या छ। क्वारेन्टाइनमा अत्यावश्क स्वास्थ्यसम्बन्धी सतर्कता नअपनाइएका कारण संक्रमण फैलिने हो कि भन्ने चिन्ता बढेको साउदले बताए।

भारतको बनारसबाट साइकल चलाएर ४ दिनमा नेपालगन्ज नाकासम्म आइपुगेका साउद नेपाल प्रवेश गर्न नपाएर सीमावर्ति क्षेत्रमा अलपत्र परेपछि भारतीय सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर नानपारा पुर्‍याएका थिए। क्वारेन्टाइनमा साउदसँगै भारतको चन्डीगढबाट साइकलमा नेपालगन्ज नाकासम्म आइपुगेका नेपाली मजदुर चन्द्र मोहन पनि छन्। चन्द्र मोहन चन्डीगढबाट साइकल चलाएर ७ दिनमा नेपालगन्ज नाकासम्म पुगेका थिए।

नेपाल प्रवेश गर्न नपाएपछि रुपैडियामा अलपत्र परेका चन्द मोहनलाई रुपैडियास्थित भारतीय प्रहरीले नियन्त्रणमा लिएर नानपारा क्वारेन्टाइनमा पुर्‍याएको थियो। नानपार नेपाल(भारत सीमा क्षेत्र करिब १५ किलोमिटर टाढा पर्छ। उनीहरुले आफूहरुको स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन्। लकडाउनका बेला नेपाल आउँदै गरेको अवस्था भारतीय सुरक्षाकर्मीहरुले नियन्त्ररणमा लिएर उनीहरुलाई क्वारेन्टाइनमा राखेको हो।नेपालन्यूज


प्रतिक्रिया दिनुहोस्