नेपाली मिडियामा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्ने : सञ्चारमन्त्री « Arthapath.com
३० चैत्र २०७६, आईतवार

नेपाली मिडियामा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्ने : सञ्चारमन्त्री



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले बन्दाबन्दीका कारण नेपाली मिडियामा देखिएको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । अर्थ र सञ्चार मन्त्री डा।खतिवडाले मिडिया सोसाइटी नेपालका पदाधिकारीसँगको भेटमा भन्नुभयो, “यो समस्याबाट कसरी छिटो उम्केर सामान्य जीवनमा सञ्चार माध्यमलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयको ध्यान आकृष्ट भएको छ ।”

प्रवक्ता डा।खतिवडाले सरकारका नीति नियम, पारदर्शिता र कर सम्बन्धी ऐन नियम पालना गरेका मूलधारका सञ्चार माध्यमलाई राज्यले पनि त्यहि आँखाले हेर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना भाइरस रोकथाम र नियन्त्रणको प्रयास भइरहेको बेला नागरिकलाई सहि समाचार दिने माध्यम पनि मूलधारकै सञ्चार माध्यम भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सञ्चार माध्यममा यो अवधिमा देखापरेका समस्या समाधान गर्न सरकारले सहकार्य गर्ने सोच बनाएको छ ।” उहाँले लकडाउनको अवधिमा सम्पूर्ण व्यवसायीलाई परेको समस्यालाई एकीकृत ढंगले विश्लेषण गरेर व्यवसायिक निरन्तरता दिलाउन सरकार छलफलमा रहेको स्पष्ट पार्नुभयो ।

प्रवक्ता डा।खतिवडासँग आइतबार सम्पन्न भेटघाटमा छापा सञ्चार माध्यममा परेका कठिनाई, त्यसबाट उत्पन्न जोखिम, विज्ञापनको कमी, पत्रकार तथा कर्मचारीको तलवभत्ता दिन भइरहेको कठिनाइ, बैंकको ब्याज भुक्तानीलगायत विषयमा मिडिया सोसाइटीका पदाधिकारीले सरकारको ध्यान आकृष्ट गराउनुभएको थियो । गोरखापत्र


प्रतिक्रिया दिनुहोस्