नववर्षको प्रारम्भिक महिनामै कोरोना नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास « Arthapath.com
१ बैशाख २०७७, सोमबार

नववर्षको प्रारम्भिक महिनामै कोरोना नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास



काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड–१९ विरुद्धको सङ्घर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उहाँले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पुरानै लयमा छिट्टै फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।

कोभिड–१९ विरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भन्दै उहाँले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याउनुभएको छ । जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै उहाँले सन्देशमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गर्नुभएको छ । “विषम परिस्थितिका बीच हाम्रो घर आँगनमा आइपुगेको नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झनायोग्य हुने मैले विश्वास लिएको छु”, सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्