‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही « Arthapath.com
१ बैशाख २०७७, सोमबार

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना भाइरसले निम्त्याएको सङ्कटको कुनै पनि हालतमा सामना गरिने उल्लेख गर्नुभयो ।

“विश्व मानवजातिका विरुद्ध खडा भएको यो सङ्कटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित बनाउने छैन, बरु यो सङ्कटको सामना गर्न हामी सक्षम हुनेछौँ”, शुभकामना सन्देशमा उल्लेख छ । प्रदेश सरकार सम्पूर्ण साधन, स्रोत तथा संयन्त्रको परिचालनसहित सङ्कट निवारण गर्न लागि परेकाले कोही पनि नागरिक त्रसित एवं निराश नहुन मुख्यमन्त्री शाहीले आग्रह गर्नुभएको छ । महामारीको रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबैले आआफ्नो तर्फबाट सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सबै बाधा, अवरोध र चुनौतीलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामूलक, समृद्ध र समाजवादी देश निर्माण गर्न सफल हुने विश्वाससहित नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्नुभएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्