को हुन नेपालमा कोरोना संक्रमित १४ जना? (सूचीसहित) « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

को हुन नेपालमा कोरोना संक्रमित १४ जना? (सूचीसहित)



काठमाडौं। विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएपछि सजगता अपनाइएको छ । केही दिनयता संक्रमित नबढेपनि हिजो र आज गरी पाँच संक्रमित भेटिएका छन् ।

२०७७ को पहिलो दिनमै दुईजना संक्रमित भेटिएका छन् । उनीहरु क्वारेन्टाइनमा थिए । पछिल्लो तथ्यांक अनुसार संक्रमित सबैभन्दा बढी कैलालीमा भेटिएका छन् । त्यसपछि पर्सा, काठमाडौं र बाग्लुङमा भेटिएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ दुईजना संक्रमित भेटिएको खुलाएका हुन् ।

संक्रमित देशभित्र भेटिएका १३ औं र १४ औं संक्रमित हुन् । उनीहरुमध्ये एकजना रौतहटका १९ वर्षीय युवक हुन् । क्वारेन्टाइनमा रहेको अवस्थामा उनको नमूना परीक्षण गर्दा पोजेटिभ भेटिएको डा. देवकोटाले जानकारी दिए । उनलाई क्वारेन्टाइनबाट निकालेर अस्पताल लगिएको छ ।

यसैगरी, कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको छ । लम्किचुआ नगरपालिकाको क्वारेन्टाइनमा रहेकी उनको नमूना परीक्षणबाट पोजेटिभ देखिएको थियो ।

हिजो एकै दिन तीन नयाँ संक्रमित भेटिएका हुन् । तीनैजना भारतीय नागरिक हुन् । वीरगञ्जमा भेटिएका उनीहरु मुस्लिम धर्मगुरु भएको बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु छपकैयास्थित मस्जिदमा बस्दै आएका थिए र शंका लागी नारायणी अस्पताल वीरगंजमा आइशोलेशनमा राखिएका थिए । त्यही उनीहरुको थ्रोट स्वाब परीक्षण गरिएको थियो ।

२१ जनाको परीक्षण गरिएकोमा तीनजनाको पोजेटिभ देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको ल्याब परीक्षण गरिएको र पुन यकिन गर्न २९ चैत्रमा पुनः परीक्षण गरिएकोमा त्यहाँबाट पनि पोजेटिभ देखिएको थियो ।स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमित तीनैजना पुरुष भएको र उनीहरुको उमेर ३७, ४४ र ५५ वर्षको रहेको जानकारी दिएको छ । संक्रमित तीनैजना नारायणी अस्पतालमा उपचाररत छन् ।

यसअघि कोरोना संक्रमित नौ जनामध्ये आठजना विदेशबाट फर्केकाहरु हुन् । उनीहरु युरोप, खाडी मुलुक, चीन र भारतबाट फर्केकाहरु रहेका छन् । बाँकी एकजनालाई नेपालभित्र रहेका संक्रमितबाट सरेको हो । पछिल्लो पटक संक्रमित भेटिएका भारतीय नागरिकहरु दिल्लीबाट नेपाल आइपुगेका थिए । उनीहरु केही हप्ताअघि नेपाल प्रवेश गरेको बुझिएको छ ।

संक्रमितहरु दिल्लीस्थित निजामुद्दीनको तबलिग जमात धार्मिक समुदायसँग सम्बन्धित हुन् । उनीहरुको सम्पर्कमा रहेकाहरुलाई पनि नियन्त्रणमा लिइएको पुष्टि भएको छ । सबैलाई आइशोलेशनमा राखेर स्वाब परीक्षण गरिने बताइएको छ ।

यसअघि संक्रमित तीनजना ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु हुन् । सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई संक्रमण भेटिएको हो । जसमध्ये दुईजना बाग्लुङका र एकजना काठमाडौंका छन् । कोरोना संक्रमण पत्ता लागेको छैठौं संक्रमित बाग्लुङकी ६५ वर्षीया महिला हुन् र उनको उपत्यकाबाहिरै उपचार भइरहेको छ । उनीहरु सबै अस्पतालमा उपचाररत छन् । दुईजना केही दिनमै अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

कोरोना भाइरसबाट नेपालमा पहिलो संक्रमित चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी आज या भोलिभित्र डिस्चार्ज हुनेछिन् ।

तेस्रो संक्रमित ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो । उनी यसै हप्ता डिस्चार्ज हुने बुझिएको छ ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीपनि यसै हप्ता डिस्चार्ज हुनेछन् ।

पाचौं संक्रमित बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको थियो । उनी बाग्लुङकी हुन् । उनी पनि चाँडै डिस्चार्ज हुने तयारीमा छिन् ।

छैठौं संक्रमित फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको हो । उनी पनि बाग्लुङकै हुन् ।
सातौं संक्रमित भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् । उनी रोजगारीका लागि मुम्बईमा थिए । लकडाउन अगाडि नै नेपाल फर्किएको बुझिएको छ ।

आठौं संक्रमित उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनी पनि कामको सिलसिलामा उत्तराखण्ड पुगेको र कोरोना रोकथामका लागि लकडाउन भएपछि फर्किएका हुन् ।

नवौं संक्रमित ३४ वर्षीया महिला नेपालभित्र नै रहँदै आएकी हुन् । संक्रमित ३४ वर्षीया महिला यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त हुन् । दुबईबाट फर्किएका ती पुरुषबाट ती महिलामा संक्रमण सरेको बुझिएको छ ।

दशौं, एघारौं र बाह्रौं संक्रमित वीरगञ्जमा पत्ता लागेका हुन् । भारतीय नागरिक उनीहरु धर्मगुरु हुन् । वीरगञ्जको मस्जिदमा रहेका उनीहरु संक्रमित भेटिएका थिए ।

१३ औं संक्रमित रौतहटका १९ वर्षीय युवक हुन् । क्वारेन्टाइनमा रहेको अवस्थामा उनको नमूना परीक्षण गर्दा पोजेटिभ भेटिएको थियो ।

१४ औं संक्रमित कैलालीकी ६५ वर्षीया महिला हुन् । लम्किचुआ नगरपालिकाको क्वारेन्टाइनमा राखिएकी उनमा संक्रमण भेटिएपछि सेती अस्पताल लगिएकी छिन् ।

संक्रमितहरुको विवरण

१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको

रिपोर्टर्स नेपालबाट


प्रतिक्रिया दिनुहोस्