बिचल्ली भएका नागरिकहरुको खोजी अनलाइनबाटै « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

बिचल्ली भएका नागरिकहरुको खोजी अनलाइनबाटै



हेटौडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकाले बन्दाबन्दीका बेला मुलुकभर रहेका आफ्ना नागरिकहरुको अनलाइनमार्फत बिवरण संकलन थालेको छ । थाहा नगरपालिकाले सामाजिक सञ्जाल फेसबुकमा अनलाइन सर्भे फारम निर्माण गरी नगरपालिका बाहिर रहेका नागरिकहरुको सहायताका लागि पहल थालेको हो । सोमबार सुरु गरिएको सर्भेमा एकै दिन ४४ जना नागरिक नगरपालिकाको सम्पर्कमा आएका सूचना अधिकारी सुरजकुमार भुजेलले बताउनुभयो ।

अनलाइन फारममा नगरबाहिर रहेका नागरिकहरुको व्यक्तिगत विवरण, बन्दाबन्दीका बेला परिरहेका समस्या र नगरपालिकासँगको अपेक्षा लगायतका प्रश्नावली छन् । अनलाइन सर्भेबाट सम्पर्कमा आएका नागरिकका लागि खानपान र सामाजिक सुरक्षाजस्ता बिषयमा थाहानगरपालिकाले सहजीकरण गर्ने नगरप्रमुख लबशेर बिष्टले बताउनुभयो । ‘एकल रुपमा नसके सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर भएपनि आफ्ना नागरिकका दुःखमा मल्हम लगाउँछौ’, नगरप्रमुख बिष्टले भन्नुभयो ।

थाहा नगरपालिकाभन्दा बाहिर रहेका नागरिकहरुले खानै नपाउने अबस्था पाइएमा सम्बन्धित स्थानीय तहलाई सम्पर्क गरी खानपानको व्यवस्था गर्न लगाउने र त्यसबापतको रकम सोही स्थानीय तहलाई पठाइने योजना रहेका नगरप्रमुख बिष्टले बताउनुभयो ।

सर्भे फारममा कतिपय विदेशमा रहेका नागरिकहरुले पनि आफ्ना दुःख उल्लेख गर्दै नेपाल फर्किन चाहेको बताएको सूचना अधिकारी भुजेलले जानकारी दिनुभयो । एकपटकमा ४० जनाले अनलाइन फर्म भर्न मिल्ने गरी व्यवस्था मिलाइएको थाहा नगरपालिकाले जनाएको छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्