यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा « Arthapath.com
३ बैशाख २०७७, बुधबार

यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा



काठमाडौँ। दैनिक कमाएर बैङ्कको किस्ता तिर्दै आएका यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा परेका छन् । गाडी चलाएर कमाउन नपाउने तर बैङ्कले ब्याज र किस्ता नछाड्ने भएपछि उनीहरू समस्यामा परेका हुन् । लामो समय लकडाउन हुने र बैङ्कले एक सुका पनि नछोड्ने हो भने व्यवसायी यातायात क्षेत्रबाट पलायन हुने अवस्थामा पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार करिब चार लाख मालवाहक तथा यात्रुवाहक सवारीसाधन यतिबेला ठप्प छन् । २३ दिन भइसक्यो सवारीसाधन सञ्चालन नभएको तर बैङ्कले ब्याज र किस्तामा कुनै सुविधा नदिएपछि व्यवसायी पलायनको अवस्थामा पुगेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले गाडी चलाउन पाएका छैनौँ, बैङ्कको किस्ता र ब्याज कसरी तिर्नु तर बैङ्क तथा सहकारीले जसरी पनि किस्ता तिर्नुपर्छ भनिरहेका छन्, कोरोनाले त गरिब मजदुरलाई भोकै मारेर बैङ्कलाई उभो लगाउने भयो, जुकाले चुसेझँै बैङ्कले मजदुरलाई चुसिरहेका छन् यतिबेला पनि । ”

महासङ्घका अनुसार ९० प्रतिशत व्यवसायीले बैङ्कको किस्ताबाट गाडीमा लगानी गरेका छन् । एउटा गाडीमा ८० प्रतिशतसम्म बैङ्क तथा सहकारीको लगानी हुन्छ । सार्वजनिक यातायातको क्षेत्रमा करिव ४० लाख प्रत्यक्ष अप्रत्यक्ष आश्रित छन् । काम गर्न नपाएपछि छाक टार्न समस्या भइरहेको बेला बैङ्कले व्यवसायीलाई किस्ताको ताकेता गरिरहेको व्यवसायीको गुनासो छ ।

विश्वभर कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछि आर्थिक गतिविधि ठप्प छ तर नेपालमा बैङ्कले भने हालसम्म कुनै सुविधाको घोषणा गरेका छैनन् । नियमित किस्ता हाललाई तिर्न नसकेमा असारसम्म तिरे हुने व्यवस्था मात्र बैङ्कले गरेका छन् । सिटौला भन्नुहुन्छ, “असारमा तिर्नु र अहिले तिर्नुमा कनै फरक छैन, असारमा तीन महिनाको एकैचोटी तिर्दा झन् समस्या, गाडी नचलेपछि हामीले कमाउन सक्दैनौँ, हामी डुब्ने तर बैङ्क नडुब्ने सधैँ नाफामा, यो त मजदुरमारा काम भयो, यस्तो महामारीमा पनि नाफा मात्र हेर्ने ?”

सिटौलाका अनुसार सवारीसाधनका अधिकांश किस्ता पाँच वर्षे हुन्छन् । त्यो भनेको ६० महिना हो । ६० महिनालाई ६५ महिना पु¥याएर सामान्य राहत दिन सकिन्छ । सरकारले बैङ्कलाई ब्याज घटाउन लगाउनुप¥यो, मजदुर व्यवसायी डुब्ने, बैङ्कलाई मालामाल बनाउने नीति सरकारले हाललाई लिनु भएन, ब्याजदर घटाउनुप¥यो, फाइनान्सले पनि व्यवसायीलाई हैरान पारेका छन् । यही अवधिमा जसरी भए पनि किस्ता तिर भनेर, ६५ प्रतिशत साथी यातायात क्षेत्रमा स्वरोजगार हुनुहुन्छ, उहाँहरू पलायनको अवस्थामा हुनुहुन्छ” महासचिव सिटौलाको भनाइ छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्