रुकुममा शङ्कास्पद दुईजनाको स्वाब केन्द्रीय प्रयोगशाला टेकु पठाइयो « Arthapath.com
३ बैशाख २०७७, बुधबार

रुकुममा शङ्कास्पद दुईजनाको स्वाब केन्द्रीय प्रयोगशाला टेकु पठाइयो



सुर्खेत। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शङ्कास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ ।

आज मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट हिँडेरै आएका दुई पुरुषको स्वाब शङ्कास्पद देखिएपछि पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिनुभयो ।

केन्द्रको पिसिआर मेशिनबाट परीक्षण भएपश्चात् आउने प्रतिवेदनबाट कोरोना भए नभएको पुष्टि हुने उहाँले बताउनुभयो । रुकुममा ३९ जनाको स्वाबको नमूना परीक्षण गरिएको थियो । “चैतमा ३० गते स्वाब सङ्कलन गरी वैशाख १ गते सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइएको हो”, उहाँले भन्नुभयो, “सुदूरपश्चिममा ९९ वटा स्वाब पठाएका थियौँ । हिजो परीक्षण भएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । आजको परीक्षणमा उनीहरुको रिपोर्ट शङ्कास्पद देखिएको हो ।”

त्यस्तै कर्णाली प्रदेशभरि ८५४ को स्वाब सङ्कलन भएको र एक हजार जति ¥यापिड टेष्ट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार हालसम्म घरमै बसेका रुकुमका कोरोना शङ्कास्पदलाई आज चौरजहारी सामुदायिक अस्पतालको आइसोलेशनमा राखिएको छ । यो घटनालाई गम्भीरता साथ लिइएको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्