भैरहवा नाकाबाट आपूर्ति नियमित « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

भैरहवा नाकाबाट आपूर्ति नियमित



भैरहवा। कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् ।

अत्यावश्यक वस्तुलगायत खाद्य पदार्थको आयात जारी रहँदा अभाव हुन नपाएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनुभयो । यस्ता वस्तुको आयात गर्दा सुरक्षा उपाय अपनाउनु भने जरुरी रहेको उहाँको भनाइ छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आफूहरूले सहजीकरण गरिरहेको बताउनुभयो । हामीले स्थानीय सरकारसँग मिलेर सहजीकरण गरिरहेका छौँ र आपूर्ति व्यवस्था सहज बनाउन भूमिका खेलेका छौँ, जसले गर्दा बजारमा अहिलेसम्म अभाव हुन पाएको छैन, उहाँले भन्नुभयो ।

देशको दोस्रो ठूलो भन्सार नाका बेलहिया हुँदै दिनहुँ दैनिक उपभोग्य वस्तुका साथै एलपी ग्यास, पेट्रोलियम पदार्थ, तयारी औषधि, औषधिका कच्चा पदार्थ, मेडिकल सामान, हरियो तरकारीजस्ता सामान नियमित रूपमा आइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईका अनुसार अहिले दैनिक सरदर २५ वटा एलपी ग्यासका बुलेट यो नाका हुँदै भित्रिरहेका छन् । त्यसैगरी चामल, अन्य खाद्यान्न, मेडिकल सामान, ताजा तरकारी, औषधि, औद्योगिक कच्चा सामग्रीजस्ता गरी करिब एक सय मालवाहक गाडी दैनिक भित्रिरहेको उहाँले बताउनुभयो । खाद्यान्नलगायत अत्यावश्यक वस्तुको मात्रै आयात हुँदा राजस्व भने दैनिक साढे दुई करोडको हाराहारीमा मात्रै सङ्कलन भएको भट्टराईले बताउनुभयो ।

नेपालतर्फ सामान लिएर आउने मालवाहक सवारीसाधनका चालक, सहचालकको सीमा नाकामै स्वास्थ्य परीक्षण गर्ने गरिएको र स्वास्थ्य समस्या देखिए भारततर्फ नै फिर्ता पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।
प्रमुख भन्सार अधिकृत भट्टराईले अहिले आयातमा कुनै समस्या नरहेको तथा भारतमा पनि लकडाउन भए पनि सामान निर्वाध रूपमा आइरहेको र सीमा नाकामा कुनै समस्या भए तत्कालै दुवै देशका जिल्लाका प्रमुख प्रशासक, सुरक्षा निकाय बसेर समाधान खोज्ने गरिएको बताउनुभयो ।

आयातका साथै सामान अनलोड गरी भारत फिर्ता जाने ट्रकको सहजीकरण भैरहवा भन्सार कार्यालयमा यातायात, सुरक्षालगायतको व्यवस्थापन हेरिरहेको संस्था ट्रान्स नेपाल फ्रेट सर्भिस प्रालि भैरहवाले गरिरहेको छ । ट्रान्स नेपाल भैरहवा शाखाका प्रमुख रवि पाख्रिनले आयात सहज तरिकाले भइरहेको बताउनुभयो । विगतमा भन्दा केही कम भएको तर अत्यावश्यक वस्तु निरन्तर आइरहेको पाख्रिनले बताउनुभयो । अन्य समयमा यो नाकाबाट दैनिक चारदेखि पाँच सयको हाराहारीमा मालवाहक गाडी भित्रिने गर्दछन् ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्