रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी



तानसेन । कोभिड –१९ को संक्रमण फैलिरहेका परिवेशमा विद्यालय बन्द भएपछि तनावमा रहेका पाल्पाका विद्यार्थी रेडियोले पढाउन थालेपछि खुशी भएका छन् । बन्दाबन्दिका कारण एसइईको चिन्तामा रहेका विद्यार्थी रेडियोले पढाउन थालेपछि भने उत्साहित छन् ।

रामपुर नगरपालिका वडा नं ५ का सुमित डोटेल एसइईको तयारी गरिरहँदा एक्कासि लकडाउनले परीक्षा मिति अनिश्चित बनेको र ट्युशन बन्द हुँदा चिन्तामा हुनुहुन्थ्यो । अहिले उहाँ रेडियोमार्फत शिक्षकले कक्षामा झैँ पढाइएपछि नियमित कक्षामा सहभागी भएको अनुभव गर्नुहुन्छ ।

परीक्षा स्थगन भएपछि सामुदायिक रेडियो मदनपोखराले‘दूरशिक्षा रेडियो कार्यक्रम‘मार्फत विद्यार्थीलाई पढाइरहेको छ । रेडियोको नियमित कक्षा सुनेपछि धेरै कुरा बुझ्ने अवसर मिलेको र कक्षामा शिक्षकले पढाएजस्तै अनुभव भएको एसइईको तयारीमा जुटेकी रामपुरकी मनिषा बोटेको अनुभव छ ।

तानसेन नगरपालिकासँगको सहकार्यमा हरेक दिन बिहान सवा १० देखि ४ बजेसम्म दूरशिक्षा रेडियो कार्यक्रम ‘एसइई पाठशाला’ उत्पादन र प्रसारण गरिएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले बताउनुभयो ।

बन्दाबन्दीको अवस्थालाई ध्यानमा राखी शुरु गरिएको एसइई पाठशालामा अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली र कम्यूटर विषयको पठनपाठन गरिएको छ । हरेक विषयका कक्षा हरेक दिन ४५ मिनेट हुन्छ ।

नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विद्यार्थीको ध्यान बाहिरी कुरामा नगई परीक्षाको तयारीमा पुगोस् भन्ने उद्देश्यले रेडियोबाट पढाइने कार्यक्रम शुरु गरिएको बताउनुभयो । “घरमा बन्दाबन्दीमा परेका बालबालिकाले रेडियोमार्फत पढ्न, नयाँ कुरा सिक्न र नबुझेका कुरा शिक्षकसँग सोध्न पाउने भएकाले पाठशाला अत्यन्त प्रभावकारी बनेको छ ”,उहाँले भन्नुभयो ।

एसइई पाठशाला रेडियो कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक होत्रीराज ढुंगानाले अंग्रेजी, जीवन आचार्यले कम्प्युटर र एकराज ज्ञवालीले सामाजिक अध्ययन, तानसेनको जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद ढकालले अनिवार्य गणित, देववाणी साधारण तथा संस्कृत माध्यमिक विद्यालयका रामजीवन ज्ञवालीले विज्ञान र माउन्ट भ्याली बोर्डिङ स्कूलका प्रेमराज खरालले नेपाली विषय पढाउँदै आउनुभएको छ ।

जनता विद्यालयका विद्यार्थी अंकित गैरेले भन्नुभयो, “विद्यालय बन्द हुुँदा र परीक्षा सरेको खबरले निकै दुःख लागेको थियो तर अहिले रेडियो सुन्दै दिनदिनै पढ्छु, यही पढाइले ए प्लस ल्याउने तयारीमा छु ।”

जनता मावि मात्रै होइन, दमकडाका अनिश पाण्डे, तानसेन ९ तिन्टीआँपका अर्चना ज्ञवाली र देववाणी विद्यालयका सुजन बस्यालको पनि रेडियो सुनेर पढ्ने दिनचर्या नै बनेको छ । सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक अर्यालले भन्नुभयो, ‘यो एसइईका लागि सहयोगी कक्षा हो । अन्तिम तयारीमा रहेका बालबालिकालाई परीक्षा सरेपछि जानेका कुरा पुनः दोहो¥याउने र नजानेका कुरा सिक्ने अवसर मिलाइएको छ ।

नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा सूचना प्रविधिको उपयोग र विद्यालय कक्षालाई डिजिटलाइज्ड गर्नसमेत मद्दत पुग्ने विश्वास गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्षसमेत रहनुभएका गणित शिक्षक ढकालले विद्यार्थीले घरमै बसेर सिक्न पाउने, फुर्सदका समयमा उपयोग गर्न मिल्ने, शिक्षकसँग भेट नहुँदा पनि पढ्न पाउने, रेकर्ड गरेर दोहो¥याइतेह¥याई सुन्न पाउने भएकाले दूरशिक्षा रेडियो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

एसइई पाठशाला पाल्पाका मदनपोखरा, रेडियो रामपुर र मुक्तिनाथ, गुल्मीका गुल्मी, रुरु र श्रृंगेश्वर, बाग्लुङको रेडियो सारथी तथा अर्घाखाँची, नुवाकोट, रसुवा, जुम्ला, बाँके, पर्वतलगायत जिल्लाका ३० भन्दा बढी रेडियोले पनि शुरु गरेका छन् । रेडियो मदनपोखराले विसं २०६० देखि २०६३ सम्म कक्षा ८, ९ र १० लाई अंग्रेजी, गणित र विज्ञान विषय पठनपाठन गराएको थियो ।रासस


प्रतिक्रिया दिनुहोस्