लकडाउनको चुनौतीः लागुऔषधका कारोवारी नयाँ जुक्ति अपनाउँदै « Arthapath.com
६ बैशाख २०७७, शनिबार

लकडाउनको चुनौतीः लागुऔषधका कारोवारी नयाँ जुक्ति अपनाउँदै



भद्रपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमानाकामा परिचालित प्रहरीका लागि लागुऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् । पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उल्लङ्घन गर्नेहरु धेरैजसो लागुऔषधसँग जोडिएको पाइएको छ ।

दुई साताअघि काठमाडौँबाट दुई युवा बा६च ७०१९ नंको कार लिएर काँकडभिट्टा आइपुगेका थिए । आफूलाई स्वास्थ्य शिविर चलाउन आएको स्वास्थ्यकर्मी बताउने उनीहरुमध्ये एकजनासँग चिकित्सकको परिचयपत्र समेत थियो । तर प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेललाई शङ्का लाग्यो । केरकार गर्दा दुवैजना लागुऔषध खोज्दै आइपुगेको पत्ता लाग्यो । उनीहरुले चिकित्सकको नक्कली परिचयपत्र बोकेका थिए ।

हाल कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको छ भने दुवै युवालाई क्वारेन्टाइनमा राखिएको छ । मेचीनगरको क्वारेन्टाइनमा बस्नेहरुमा लागुऔषधका कारोवारी र प्रयोगकर्तासमेत छन् । बन्दाबन्दीमा मोटरसाइकल चलाएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो । दुईजना लागुऔषधका प्रयोगकर्ता केही दिनअघि क्वारेन्टाइनको झ्याल फोरेर राति भागेका थिए ।

यतिबेला भारतसँगको सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो गस्ती र अस्थायी शिविर छ । सुरक्षाकर्मीलाई छलेर भारततिर जान असम्भव भए पनि त्यस्ता व्यक्तिले असफल प्रयास भने गरिरहेकै छन् । काँकडभिट्टापारि भारतको पानीट्याङ्की, खोरीबारी, अधिकारी र बतासीमा लागुऔषध नेपालतिर आपूर्ति गर्ने अखडाहरु छन् । पहिले पसलमार्फत हुने किनबेच अहिले सीमा छेउका झुप्रा घर र खोलाको बगरबाट भइरहेको बताइएको छ ।

नाकाबाट आवतजावत ठप्प भएपछि लागुऔषधका कारोवारीले नयाँ नयाँ जुक्ति प्रयोगमा ल्याइरहेको सूचना पाएकाले प्रहरीलाई चनाखो रहन आग्रह गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् । उनले खोलामा नुहाउने बहानामा लागुऔषध वारपार भइरहेको हुँदा सतर्क हुनुपर्ने बताइन् ।

‘नुहाउने बहाना गर्दै नेपालतिरबाट युवा मेची नदीमा जाने गर्दारहेछन्’, उनले भनिन्, ‘भारततिरबाट पनि त्यसैगरी खोलामा आउँछन् र पानीमुनि नुहाएको बहाना गरी लागुऔषध दिँदारहेछन् ।’ खोलामा नुहाउन जानेमाथिसमेत प्रहरीले हाल निगरानी बढाएको छ । भारतसँग जोडिएको मेचीनगर नगरपालिकाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले २५ स्थानमा अस्थायी पोस्ट बनाएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बन्दाबन्दीको समयमा २५ वटा मोटरसाइकल, एउटा स्कार्पियो र एउटा कार नियन्त्रणमा लिइएको बताए । उनका अनुसार ती सवारी साधन शङ्कास्पद लागुऔषध कारोवारीका हुन् ।

उनले बन्दाबन्दीमा सुरक्षा व्यवस्था कडा बनाइएको हुँदा सर्वसाधारण घरमै बसेको भए पनि लागुऔषधका प्रयोगकर्ता र कारोवारी भने सल्बलाइरहेको बताए । उनले लागुऔषधका प्रयोगकर्ताबाट समाजमा उत्पन्न हुनसक्ने चुनौती र समस्या समाधानका बारेमा स्थानीय सरकारसँग छलफल भइरहेको बताए । सीमा पार गरेर अब कोही पनि जान नसक्ने प्रष्ट पारे ।

मेचीनगर क्षेत्रबाटै झापा र अरु जिल्लामा लागुऔषधको धन्धा विगतदेखि नै सञ्चालन हुँदै आएको हुँदा कारोवारको जालो बलियो हुनसक्ने अनुमान गरिएको छ । मेचीनगर–१० को खयरडाँगीमा धरान, दमक, फिदिम, इटहरीलगायत विभिन्न शहरबाट लागुऔषध खोज्दै आएका युवालाई स्थानीय टोल समितिले केही दिनअघि भाटेकारवाही गर्दै लखेटेको थियो ।

लागुऔषध नियन्त्रण र प्रयोगकर्तालाई स्वस्थ जीवनमा फर्काउने अभियान चलाइरहेको नाइटचेस क्लब काँकडभिट्टाका प्रोडक्सन को–अर्डिनेटर सोमराज ढकालले नियमित सेवनकर्ताले कुनै कारणवश खान पाएन भने ७२ घण्टासम्म ‘सिक’ हुने बताए । त्यस्तो अवधिमा उनीहरुमा सहनै नसक्नेगरी शारीरिक र मानसिक पीडा हुने, पेट बटारिने, मांसपेशी बाउँडिने जस्ता समस्या देखा पर्ने उनले बताए ।

बन्दाबन्दीको अवस्थामा लागुऔषध खानका लागि त्यस्ता व्यक्तिले ज्यानको पर्वाह नगरी सीमा पार गर्ने, राति हिँडडुल गर्ने, चोरी र लुटपाट गर्ने गर्नसक्ने ढकालले सम्भावना व्यक्त गरे । उनीहरुलाई स्थानीय सरकारले खोजी खोजी छुट्टै क्वारेन्टाइनमा राखेर परामर्श दिने वा सरकारले नै लागू गरेको मौखिक प्रतिस्थापन विधि ९ओएसटी०बाट औषधोपचार गर्ने उपाय भएको उनले बताए ।रासस


प्रतिक्रिया दिनुहोस्