बाँकेका मस्जिदहरुमा बस्ने सबैको कोरोना परिक्षण गर्ने निर्णय « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

बाँकेका मस्जिदहरुमा बस्ने सबैको कोरोना परिक्षण गर्ने निर्णय



नेपालगञ्ज । उदयपुर र पर्सामा भारतबाट फर्किएका जमाती मुस्लिमहरुमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप बाँके जिल्लामा रहेका सबै मस्जिदहरुमा बस्ने इमाम र सहायकलगायत सबैको कोरोना परिक्षण गर्ने निर्णय गरिएकोे छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप बाँकेका मस्जिदमा बस्नेहरुको कोरोना परिक्षण गर्ने निर्णय गरिएको जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी खड्काले सो बारेमा जिल्लाका मुस्लिम धर्मगुरुहरुसँग समन्वय गरिएको जानकारी दिंदै सहयोगको प्रतिबद्धता पाएको बताउनु भएको छ । ‘अब मस्जिदमा बसेका सबैको कोरोना परीक्षण गरिनेछ’, उहाँले भन्नुभयो ।

उहाँले परिक्षणका लागि आउने स्वास्थ्यकर्मीहरुलाई सहयोग गरिदिन सबैसँग आग्रह पनि गर्नु भएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा। प्रकाश थापाले सरकारले मस्जिदमा बसेकाहरुको परिक्षण गर्ने निर्णय गरेकोले खटाएको ठाउँमा पुगेर परीक्षण गर्ने बताउनु भएको छ । कोरोना परीक्षण सँगै बाँकेका सबै मस्जिदहरु लगायत अन्य सबै धर्मका धार्मिक स्थलहरुमा समेत सामूहिक धार्मिक गतिविधिमा पूर्ण रुपमा रोक लगाउने निर्णय पनि प्रशासनले गरेको छ ।

स्थानीय प्रशासनले गरेको सो निर्णयको स्वागत गर्दै मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले सरकारले गरेको निर्णयमा आफूहरुले पूर्ण सहयोग गर्ने बताउनु भयो । उहाँले अधिकांश मस्जिदहरुमा सामुहिक धार्मिक कार्यहरु बन्द गरिसकिएको जनाउँदै बन्द नगरेका स्थानमा पनि बन्द गर्न लगाउने प्रतिवद्धता दोहोर्याउनु भयो ।रासस


प्रतिक्रिया दिनुहोस्