कुहिएको दाल राहत बाँडेको आरोपमा नगरप्रमुख यादव पक्राउ « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

कुहिएको दाल राहत बाँडेको आरोपमा नगरप्रमुख यादव पक्राउ



बारा । राहतका लागि कुहिएको दाल बिक्री, वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई करिब साढे तीन वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले जानकारी दिनुभयो ।

कुहिएको दाल बेचेको अभियोगमा संलग्न ८ जनालाई यसअघि नै पक्राउ गरिएको छ । राहतको नाममा पक्राउ परेका ५ जना वडा अध्यक्ष, एक जना सचिव र दाल मिलका सञ्चालक सहित अन्यगरि आठ जनाले दिएको वयानका आधारमा नगर प्रमुख यादव दोषी देखिएको हुँदा पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेमा कलैया उमनपा–१ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नं। ७ का अध्यक्ष सरफुल्लाह अन्सारी, वडा नं। ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नं। १३ का अध्यक्ष राजन प्रसाद पटेल र वडा नम्बर २६ का अध्यक्ष महेश साह रहेका छन् ।

यसैगरि कलैया उमनपा वडा नं।२० का सचिव खेदु मियाँ, सोही ठाउँ वडा नं। ७ स्थित रहेका यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगंज स्थित रहेका धन लक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पगेनीले बताउनुभयो ।

कुहिएको दाल बिक्री गर्नुको साथै राहतमा वितरण गरेपछि स्थानीय प्रहरी प्रशासनले यादव आइस एण्ड कोल्ड स्टोरमा खान योग्य नरहेको ३८० बोरा भित्र रहेको ३२ हजार किलो परिणामको रहर दाल यसअधि नै सिल गरेको थियो ।

उता कुहिएको रहरको दाल राहतमा वितरण गरिएको सर्वत्र गुनासो आएपछि बारा प्रहरीले स्टकमा राखिएको रहरको दालको नमूना परिक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा पठाएकोमा त्यहाँबाट दाल गुणस्तरहीन रहेको रिर्पोट आएको बारा प्रहरीले जनाएको छ ।

नमूनामा पठाइएको रहरको दाल नेपाल सरकारले तोकेको गुणस्तर अनुरुप नपाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं कार्यालय प्रमुख सोमकान्त रिजालद्वारा परिक्षण रिर्पोटमा जनाइएको छ । दालको नमुनामा जैविक पदार्थको मात्रा अत्यन्तै कम रहेको, प्रायः सबै दानामा किराले क्षति गरि सकेकाले सो दाल खान योग्य नरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्