८५ जनाको सडकमै परीक्षण « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

८५ जनाको सडकमै परीक्षण



कञ्चनापुर । बाह्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने ८५ जनाको सडकमै र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ । जिल्ला प्रवेश गर्ने कृष्णपुर नगरपालिका–६ गजरौलामा रहेको हेल्थ डेस्कमा र्यापिड टेष्ट गरिएको हो । सबैको नतिजा नेगेटिभ आएको छ ।

स्थानीय प्रशासनको अनुमतिबिना जिल्ला प्रवेश गरेका व्यक्तिलाई रोकी र्यापिड टेष्ट विधिबाट जाँच गरेका छौँ, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, “परीक्षण गरिएका सबै जनाको नतिजा नेगेटिभ आएको छ ।”

देशका विभिन्न ठाउँबाट फर्केकामा कृष्णपुर नगरपालिकाका सात, शुक्लाफाँटा नगरपालिकाका १२, बेदकोट नगरपालिकाका ११, भीमदत्त नगरपालिकाका २२, बेलौरी नगरपालिकाका २० र लालझाडी गाउँपालिकाका नौ जना छन् ।

जानकारीबिना जिल्ला प्रवेश गरेका २८ जनालाई भीमदत्त नगरपालिकाको बैजनाथ माविको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका सबैको (यापिड टेष्टको नतिजासमेत नेगेटिभ आएको छ ।

भीमदत्तनगरस्थित गौसिया जामेमस्जिदमा रहेका अध्यक्षसहित पाँच जनाको र्यापिड टेष्टको नतिजासमेत नेगेटिभ आएको छ ।

यसअघि गजरौलामा रहेको हेल्थ डेस्कमा कैलालीबाट कञ्चनपुर प्रवेश गर्ने ८७ पुरुष र २२ महिला गरी १०९ को स्वास्थ्य जाँच तथा विवरण सङ्कलन गरेको थियो । स्वास्थ्य जाँचपछि जिल्ला प्रवेश गर्ने सबैलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत गरेको छ ।

मुक्तहलियाका लागि राहत

लकडाउनबाट प्रभावित सुदूरपश्चिमका चार जिल्लाका २२५ अतिविपन्न मुक्तहलिया परिवारलाई वितरण गर्नका लागि कञ्चनपुरबाट आज राहत सामग्री पठाइएको छ ।

लुथरन विश्व फेडरेशन संस्थाको सहयोगमा राष्ट्रिय हलियामुक्त समाज महासङ्घले राहत सामग्रीसहितको ट्रक पठाएको हो ।

डडेल्धुरा, बैतडी, डोटी र कञ्चनपुर जिल्लामा वितरणका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसारको राहत सामग्री पठाइएको महासङ्घका अध्यक्ष ईश्वार सुनारले बताए ।

राहतका रुपमा चामल ६७ क्विन्टल ५५ किलो, दाल छ क्विन्टल ७५ किलो, नुन चार क्विन्टल ५० किलो, चिनी चार क्विन्टल ५० किलो रहेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्नका लागि देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्तहलिया परिवारलाई परेको छ । रासस


प्रतिक्रिया दिनुहोस्