बिरालोको बच्चा जस्तै मानेर घरमा पाल्दा…. « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

बिरालोको बच्चा जस्तै मानेर घरमा पाल्दा….



स्याङ्जा । स्याङ्जाको वालिङमा लोपोन्मुख चरी बाघको डमरु भेटिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले बिरो प्रजातिको चरी बाघको डमरुलाई वन कार्यालयको संरक्षणमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६ दिन पहिले स्थानीय बालबालिकाले जङ्गलमा खेल्ने क्रममा बिरालोको बच्चा भनेर घरमा ल्याएर पालेको बिरालोको बच्चा जस्तो देखिने चरी बाघ भएकाले कार्यालयमा राखिएको छ ।

प्रमुख काफ्लेले भन्नुभयो, “अहिले साह्रै सानो छ सानोमै जङ्गलमा छाड्दा अन्य जनावरले खाने डरभएकाले अली ठूलो भएपछि सम्बन्धित ठाउँमा लगेर छाड्छाँै ।” लोपोन्मुख संरक्षित वन्यजन्तुका रुपमा रहेको चरी बाघको बच्चालाई वालिङ नगरपालिका–१ मा बालबालिकाले खेल्ने क्रममा फेला पारेका थिए ।

लकडाउनको समयमा फुर्सदमा रहेका बालबालिकाले जङ्गलमा खेल्ने क्रममा बिरालोको बच्चा जस्तै मानेर घर लगेका थिए । घरमा लगेर पालेको केही दिनपछि सो बच्चाले बिरालो नभई बाघको जस्तो व्यवहार देखाउन थालेपछि स्थानीयवासीले गण्डकी प्रदेश सभासदस्य एवं विधायन सभासमितिका सभापति मोहनप्रसाद रेग्मीलाई सम्पर्क गरेर वन कार्यालयमा बुझिदिन आग्रह गरेका थिए ।

उहाँले डिभिजन वन कार्यालय स्याङ्जामा सो कुराको जानकारी गराएपछि जङ्गलबाट बिरालो भनेर ल्याएर पालेको बच्चा चरी बाघको बच्चा भएको वन कार्यालयले पुष्टि गरेको थियो । डिभिजन वन कार्यालयले कास्की भिजन वन कार्यालयसँग समन्वय गरेर कास्कीस्थित पचभैवामा रहेको जनावर उद्धार केन्द्रमा छाड्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्