क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु « Arthapath.com
१२ बैशाख २०७७, शुक्रबार

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु



काठमाडौं । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् ।

मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् ।

मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए ।

शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ ।

“अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो । भोलिपल्ट बच्चा पो जन्मियो । समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन”, उनले भने, “मृत शिशु प्रहरीको जिम्मा लगायौैँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ ।” क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

रक्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कोरोनाको डरले शिशुको शव परीक्षण भने गरिएको छैन । आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको सङ्क्रमण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ ।

शिशुको शव परीक्षण गरे÷नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिएनन्। “अविवाहित भनिएकी युवतीले मृत शिशु जन्माएकी हुन् । अहिलेलाई यत्ति भनौँ । शिशुको शव परीक्षणलगायतका कुरा पछि गरौँला नत्र माथिल्लो निकायमा सोध्नुस्”, प्रहरी निरीक्षक राईले भने ।रासस


प्रतिक्रिया दिनुहोस्