बिद्युत नियमित गराउन नसक्ने सहकारीसँग सम्झौता तोड्न प्राधिकरणलाई आग्रह « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

बिद्युत नियमित गराउन नसक्ने सहकारीसँग सम्झौता तोड्न प्राधिकरणलाई आग्रह



मार्तडी । नेपाल विद्युत प्राधिकरणसँग बीस वर्षे सम्झौता गरी बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्रले नयाँ उपकरण ल्याउन नसक्दा विद्युत अनियमित हुने गरेको छ ।

पुराना मेशिन बिग्रन थालेपछि बिजुली नियमित नआउँदा जिल्लावासी अध्यारोमा बस्न बाध्य छन् । केन्द्रले २०६६ सालमा सम्झौता गरी विद्युत सञ्चालन गर्दै आएको छ । टावरमा सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी०ले बम प्रहार गरेर क्षतिसमेत तुल्याएको थियो । त्यसपछि पनि मेशिन बिग्रँदा सामान्य मर्मत गरेर चलाउने गरिएको छ ।

जिल्लाका सञ्चारमाध्यमसहित अति आवश्यक सरकारी कार्यालयले समेत विद्युत नियमित नहुँदा सेवामा समस्या भोगेका छन् । हाल कोरना भाइरसको संक्रमण कमरण नियमति रुपमा खुला रहने जिल्ला अस्पताल बाजुरा, जिल्ला प्रशासन कार्यालय, र स्वास्थ्य कार्यालयले विद्युत नियमति नभएपछि सोलार जडान गरी सेवा दिँदै आएका छन् ।

विद्युत नियमित गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले पटक÷पटक केन्द्रको सञ्चालक समितिलाई भन्दै आएको छ । जिल्लामा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र सेवाग्राहीले विद्युत नियमित नगर्ने भए प्राधिकरणलाई नै जिम्मेवारी बुझाउन सुझाव समेत दिँदै आएका छन् ।

बन्दाबन्दीको समस्या भएको बेला घरमा समय बिताउँदा अँध्यारोमा बस्नु परेको स्थानीयवासी अधिवक्ता हर्क खडायतले बताउनुभयो । बिजुली नहुँदा इन्टरनेटको पहुँचबाट टाढा हुनाका साथै महत्वपूर्ण समाचार छुट्ने स्थानीयवासीको भनाइ छ । बडीमालिका नगरपालिका–९ का स्थानीयवासी सन्तोष विश्वकर्माले वर्षेनी त्रिवेणी केन्द्रले विद्युतका ग्राहक थप्दै जाने र विद्युत नियमिततामा भने ध्यान नदिने गरेको जनाए ।

असारमा खोलाले नहर बगाउने र अन्य समयमा मेशिन बिग्रेको निहुँ बनाउदै बत्ती नियमित नआउने गरेको विश्वकर्माको गुनासो रहेको छ । विश्वकर्माले भने–“अब सहकारीले प्राविधिकरणलाई हस्तान्तरण गरेर राष्ट्रिय प्रसारण लाइन जोड्नुपर्ने आवश्यकता छ ।”

सेवाग्राहीले नियमित रुपमा बत्ती बाल्न नपाए पनि मासिक रुपमा महसुल तिर्न बाध्य भएको विश्वकर्माको भनाइ छ । पटक पटक बत्ती आउने र जाने मात्र हुने गर्छ । दिनमा चार भन्दा बढी पटक आउने र जाने गरेकाले सेवाग्राही बत्ती बाल्न भन्दा महसुल तिर्ने गरेको विश्वकर्मा ले बताए ।

बडीमालिका खबरका अनलाइनका सम्पादक लक्ष्मीराज पाध्यायले हरपल समाचार दिनुपर्ने आफूहरुलाई बिजुली नियमित नहुँदा समस्या परेको बताए । स्थानीय व्यवसायी तुलाबहादुर रोकायाले त्रिवेणी केन्द्रले आफ्नो जिम्मेवारी प्राविधिकरणलाइ फिर्ता गर्नु नै वकल्प भएको बताए ।

त्रिवेणी सहकारी मार्फत सञ्चालनमा रहेको वित्रेणी साना जलविद्युत् केन्द्रको मर्मत खर्चमा प्रत्येक वर्षमा रु १२ लाख बढी खर्च हुने गरेको केन्द्रका अध्यक्ष अशोक रावलले बताए । बन्दाबन्दीमा नयाँ मेशिन ल्याउन नसकिने भएपछि दैनिक दुई घण्टा लोडसेडिङ् गर्न बाध्य भएको केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए ।

प्राधिकरण बाजुरा वितरण केन्द्रका निमित्त वितरक प्रमुख डम्बर भाटले सहकारीले २० वर्षका लागि सम्झौता गरेका तत्काल आफूहरुले लिन नसकिने तर जनगुनासो सम्बोधनका लागि केन्द्रलाई आग्रह गरिँदै आएको जनाए ।रासस


प्रतिक्रिया दिनुहोस्