गोकर्णमा पाँच सयलाई खाना खुवाइँदै « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

गोकर्णमा पाँच सयलाई खाना खुवाइँदै



काठमाडौँ। गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् । गोकर्णेश्वर ८ र ९ र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा लकडाउनयता बिहान र बेलुका व्यवस्थित र सुरक्षित तरिकाले खाना वितरण गरिएको स्थानीयवासीले बताएका छन् ।
विभिन्न संघसंस्थाको सहयोगमा पोको पारिएको निःशुल्क खाना वितरण गरिँदै आएको आरुबारी डाँडागाउँ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम सामाजिक दूरी कायम गरी कुपनमार्फत बिहान १० देखि ११ बजेसम्म र साँझ ६ देखि ७ बजेसम्म पाँचपाँच सय जनालाई निःशुल्क खाना वितरण हुँदै आएको छ । ऐतिहासिक ढुङ्गेधारा कुवा प्राङ्गणमा प्रत्येक दिन खाना वितरण हुँदै आएको छ । खाना लिन आउने सबैको शरीरको तापक्रम जाँच्ने, अनिवार्य मास्क, साबुन पानीले हात धुने र स्यानिटाइजर व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

लकडाउन अवधिमा खान नपाएका वर्गलाई तोकिएको स्थान र अपांगता भएकालाई घरसम्म नै खाना पु¥याउने व्यवस्था गरिएको स्थानीय स्पोर्टस युवा क्लबका अध्यक्ष अनिल देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार खाना वितरणसँगै पशुपति तथा स्वयम्भूनाथ क्षेत्रमा रहेका बाँदर, कुकुर तथा छाडा चौपायालाई खाद्यान्न तथा फलफूलसमेत वितरण गरिएको छ ।

लकडाउनदेखि नै सबै संस्था मिलेर नियमित सडक सफाइदेखि औषधि छर्कने तथा चोरी तथा अनावश्यक हिँडडुल रोक्न महानगरीय प्रहरी वृत्त बौद्धको समन्वयमा दिवा तथा रात्रि गस्तीसमेत सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । स्थानीय स्पोर्टस स्पेशल क्लब, बृहस्पति मार्गटोल विकास समाज, आरुबारी डाँडागाउँ टोल सुधार समाज, आनन्दपुर महिला समाज, गोकर्णेश्वर सेवा समाज तथा आनन्दपुर÷आरुबारी टोलबासी र अन्य सहयोगीको सहयोगमा निःशुल्क खाना वितरण हुँदै आएकोछ । गोकर्णेश्वर नगरपालिकाका अन्य वडामा समेत स्थानीयवासीको पहलमा निःशुल्क खाना वितरण हुँदै आएको छ ।

लकडाउन उल्लङ्घन गर्ने एक लाख नियन्त्रणमा

कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीको अवधिमा करिब एक लाख जनालाई नियन्त्रणमा लिइएको छ । चैत ११ देखि वैशाख १६ सम्म बन्दाबन्दी उल्लङ्घन गर्ने करिब एक लाख जनालाई नियन्त्रणमा लिई छाडिसकिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक निरजबहादुर शाहीले बन्दाबन्दीको अवधिमा अहिलेसम्म करिब एक लाख जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई तथा कोरोना रोग सङ्क्रमणबारे जानकारी गराई छोडिसकिएको जानकारी दिनुभयो । मङ्गलबार मात्र मुलुकभरि एक हजार ९७५ जना र एक हजार २४५ सवारी साधनलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरी प्रवक्ता शाहीले दिनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले मङ्गलबार काठमाडौँ उपत्यकामा बन्दाबन्दी उल्लङ्घन गर्ने एक हजार एक सय सवारी साधन र करिब एक हजार दुई सय जना व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छोडिएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्