आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र



काठमाडौँ । चालू आर्थिक वर्ष २०७६र७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान गरेको हो ।

चालू आवको बजेटमा सरकारले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखे पनि कोरोना विषाणुको सङ्क्रमणका कारण अर्थतन्त्र प्रभावित भई वृद्धिदर खुम्चिने अवस्था आएको विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वृद्धिदर प्रक्षेपणका लागि चालू आवको सातदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित प्राप्त आँकडा र बाँकी अवधिको वस्तु तथा सेवा उत्पादनको अनुमान गरिएको छ । कोरोना भाइरसको असर कति समयसम्म रहने यकिन नभए पनि होटल र यातायात क्षेत्र भने अहिलेसम्म निकै प्रभावित भएको विभागले उल्लेख गरेको छ । विभागका अनुसार कुल गार्हस्थ उत्पादनमा यी दुवै क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर चालू आवमा ऋणात्मक रहने छ ।

चालू आवको नौ महिनासम्म पर्यटक आगमनमा १३.८२ प्रतिशतले कमी हुँदा होटल तथा रेस्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने विभागको प्रक्षेपण छ । चालू आवमा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा यस क्षेत्रको योगदान १.४१ प्रतिशत हुने भए पनि कुल मूल्य अभिवृद्धिमा भने १३.८२ प्रतिशतले कमी आउने अनुमान छ । विश्वव्यापी तथा आन्तरिक रूपमा आवतजावतमा आएको अवरोध तथा यातायात प्रणालीमा आएको अवरोधले पनि यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण विभागको छ ।

क्षेत्रगत रूपमा कृषि तथा वन क्षेत्रको योगदान २७.०८ प्रतिशत रहने अनुमान छ । धान उत्पादनमा आएको कमी र कोरोना सङ्क्रमणले निम्त्याएको महामारीले आपूर्तिमा आएको अवरोधका कारण तरकारी, मासु तथा दुग्ध उत्पादनमा केही कमी आउने भए पनि गहुँ तथा फलफूल बालीमा सामान्य वृद्धि हुने अनुमान छ । मत्स्यपालन क्षेत्रको कुल मूल्य अभिवृद्धि ७.१७ प्रतिशतले बढ्ने र जीडीपीमा यसको योगदान ०.५७ प्रतिशत रहने अनुमान छ । आपूर्ति प्रणालीमा आएको रोकावटकै कारण खानी तथा उत्खनन क्षेत्रको मूल्य अभिवृद्धि दर ०.६९ प्रतिशतले ऋणात्मक रहने अनुमान छ ।

उद्योग क्षेत्रको योगदान चालू आवमा ५.०९ प्रतिशत पुग्ने अनुमान छ । यद्यपि कुल मूल्य अभिवृद्धि भने २.२७ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण विभागले गरेको छ । विद्युत्, ग्यास तथा पानीको जीडीपीमा योगदान बढेर १.४१ प्रतिशत पुग्ने अनुमान छ । विद्युत् उत्पादनमा आएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर २८.७५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । निर्माणाधीन आयोजनामा उपकरणलगायत सामग्रीको आपूर्तिमा आएको अवरोधले यस क्षेत्रको वृद्धिदर ०.३१ प्रतिशतले ऋणात्मक हुनेछ । चालु आवमा जीडीपीमा १३.८९ प्रतिशतको योगदान पुग्ने अनुमान गरिएको थोक तथा खुद्रा व्यापार क्षेत्रको मूल्यवृद्धि वृद्धिदर २.११ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ । (गोरखापत्रबाट)


प्रतिक्रिया दिनुहोस्